Public Pana
प्रहरी झडपमा ज्यान गुमाएका परिवारलाई १० लाख राहत
ज्यान गुमाएका अछामका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखका २३ वर्षीय सुजन रावत

सरकारले ललितपुरको बालकुमारीमा हिजो शुक्रबार भएको घटनामा परी ज्यान गुमाएका दुई युवाको परिवारलाई १०–१० लाख राहत घोषणा गरेको छ। 

आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। उनले भनिन्, ‘मृतक युवाको परिवारलाई प्रति परिवार १०–१० लाख दिने निर्णय भएको छ,’ ।

त्यस्तै, सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ। 

त्यस्तै, ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन्। 

उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय पनि भएको छ । 

सरकारले परिवारप्रति समवेदना र मृतकप्रति श्रद्धाञ्जली अर्पण समेत गरेको छ। 


बालकुमारीमा भएको प्रहरीसँगको झडपमा परी अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका २३ वर्षीय वीरेन्द्र बहादुर शाह र दैलेखको महावु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो। 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update