ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग जानकारी लिएका छन् ।
आज शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले घटनाको जवाफ लिएका हुन् ।
भेटमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित थिए।
उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका थिए ।