Public Pana
बालकुमारी घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले भन्यो: मन्त्रीको गाडी जलाइनु अराजकता

सरकारले शुक्रबार बालकुमारीमा भएको घटनामा मन्त्री सवार गाडी जलाइनु अराजकता भएको बताएको छ। सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन्। 

बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरुबाट जलाइनु अराजकता भएको टिप्पणी गरिन्। 

‘सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइन्छ । तर त्यसको आफ्नो तरिका हुन्छ । जुन ढंगले यो घटना घटाइयो यसमा दुःख व्यक्त गर्न चाहन्छु । यो अराजकता हो। अराजकता फैलाउने, प्रश्रय दिने काम कसैले गर्नुहुँदैन’ उनले भनिन्, ‘यो गलत भएको छ। यसमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने नै छ। सरकारले यसमा आवश्यक पहलकदमी लिन्छ।’

 

उनले घटनामा मानिसहरुको मृत्युसमेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद् भएको बताइन्। यसप्रकारको अराजकतालाई कसैले पनि प्रश्रय दिनु नहुने उनको भनाइ थियो। उनले आफ्ना असन्तुष्टिहरु शान्तिपूर्ण राख्न पाउने सबैको अधिकार भएको भन्दै आफ्ना कुराहरु राख्ने सही बाटो यस्तो नभएको बताइन्। 

उनले भनिन्, ‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरुको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यु काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ। त्यसको यथार्थ विवरण आउन बाँकी छ। यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला। तर जे घटना भयो त्यो गलत भयो। त्यो दुःखद् भयो। त्यस्तो गर्नु हुँदैन । आफ्ना असन्तुष्टिहरु, आफ्ना कुराहरु, आफ्ना विषयहरु शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ। त्यो राख्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update