Public Pana
सन्दीपको मुद्दामा बिहीबार पनि हेर्दा हेर्दै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस जारी रहेपछि हेर्दाहेदैमा राखिएको छ।

जिल्ला अदालत काठमाडौंमा गत आइतबारदेखि सुरु भएको बहस लामिछानेका कानुन व्यवसायीले लम्ब्याएपछि शुक्रबारका लागि हेर्दा हेर्दैमा राखिएको जिल्ला अदालतले जनाएको छ। 

बुधबार वादी पक्षको सकिएकोमा बिहीबार प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए। बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए। 

आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए।

पहिलो दिन वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधवार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरे।

 

बुधबार अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलिया गरी १० जनाले बहस सकाएका थिए।  

बुधबार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस ओपनिङ गरेका थिए। प्रतिवादीतर्फबाट पनि बहस सकिए जवाफी बहस गरेर टुङ्गाउने जिल्ला अदालतको तयारी भएपछि शुक्रबार ३ बजेपछि अदालत बिदा हुने भएकाले आइतबारसम्म हेर्दा हेर्दै हुनसक्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update