Public Pana
मन्त्रिपरिषद् हेरफेरबारे देउवाको सन्देश- महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि कुरा गरौंला

कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक र राष्ट्रिय सभा निर्वाचनपछि मात्र मन्त्रिपरिषद् हेरफेरबारे कुरा गरौंला भन्ने जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्। कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन माघ ११ मा हुँदैछ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल दोस्रो वर्ष लागेको अवसरमा नयाँ सन्देश दिने किसिमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रिपरिषद्सम्ममा हेरफेरको तयारी गरिरहेका थिए। तर देउवाले सन्देशले कांग्रेसबाट मन्त्रीहरू परिवर्तन हुने समय धकेलिएको छ।

‘सभापतिले अहिले हामी महासमितिको बैठक पनि गर्दैछौं। राष्ट्रिय सभाको पनि चुनाव भइराखेको हुनाले यो विषय (मन्त्रिपरिषद्‌मा हेरफेर) मा पछि कुरा गरौंला भन्नुभएको छ। अहिले यो विषयमा प्रवेश भएको छैन’, बिहीबार पार्टी कार्यालयमा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने।

उनले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएको बताए। ‘संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीयको व्यवस्था हो। प्रधानमन्त्रीय प्रणाली हो। प्रधानमन्त्रीले आफूलाई असहज भएमा, एक दलीय सरकार छ भने त जतिबेला पनि बदल्न सक्नुहुन्छ, गठबन्धनको भएको हुनाले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेला पनि हेरफेर गर्न सक्ने प्रावधानलाई कांग्रेस अवरोध बन्दैन’, उनले भने।

उनले प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् चाहिने बताए। ‘आफ्नो दलको मात्रै नभएकाले, अरु दलबाट आउने मन्त्रीहरू पनि प्रधानमन्त्रीलाई सहयोग गर्ने, सहयोग गर्न सक्ने, सहयोग गर्न चाहने मन्त्री हुनुपर्छ भन्ने मान्यता हाम्रो पनि हो। प्रधानमन्त्रीको पनि हो’, उनले भने, ‘त्यसैले प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग छलफल गरेर जुनसुकै बेला पनि मन्त्रिपरिषद् हेरफेर गर्न सक्नुहुन्छ भन्ने हाम्रो दृष्टिकोण हो।’

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update