Public Pana
केन्द्र  सरकारलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुँदै

संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् । 

संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा समस्या देखिएको समयमा छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरू  बिहीबारबाट हेटौँडामा भेला हुने भएका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी आयोजना गरिएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ । उक्त संगोष्ठीमा तीनै तहका सरकारको साझा अधिकारको विस्तृतीकरण र कानुन निर्माण प्रक्रिया, बित्त÷आर्थिक विकास क्षेत्र, सेवा क्षेत्र, पूर्वाधार क्षेत्र र वन वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रको बारेमा कार्यपत्र प्रस्तुतीसँगै छलफल हुने  छ । 

बिहीबार र शुक्रवार हुने कार्यक्रममा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहने भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update