Public Pana
प्रधानमन्त्रीले भने- कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीले ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई असफल हुने छूट नरहेको भन्दै कार्यक्षमता प्रमाणित गर्न भनेका छन्।

मंगलबार आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा नरहेको बताएका हुन्। 

उनले कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीहरुलाई पद ओगटेर नबस्न पनि भनेका छन्। 'कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ,' उनले भने।


प्रधानमन्त्री दाहालले देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेकोमा जोड दिँदै असफल हुने छूट नरहेको बताए।

'म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्नँ चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।

यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन,' उनले भने।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update