Public Pana
परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा जिम्मेवारी : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव भएको भन्दै यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

मंगलबार बिहान २०औं राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको बताए। 

‘भौगोलिक रूपमा सानो भएता पनि यहाँको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको छ’, उनको भनाइ छ।

 

‘नेपालका चाडबाड, जात्रापर्व र सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि हुन्’, उनले भने, ‘नेपाल जातीय, भाषिक, धार्मिक सांस्कृतिक विविधताले सम्पन्न र हरेक समुदायले संस्कृतिलाई जीवनको अभिन्न अंगको रूपमा लिइआएका छन्।’

उनले राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौं उपत्यकाभित्रका र बाहिर रहेका ज्यापुहरूबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकहरूबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update