Public Pana
निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल वायुसेवा निगमले हालसम्म गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) नखोस्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई निर्देशन दिएका छन्। 

आइतबार सिंहदरबारमा मन्त्री किराँतीलाई बोलाएर प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्। 

गत मंसिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ अब उप्रान्त प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो। प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२)अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो। 

सोसँगै प्राधिकरणले १७ गते नै त्यसको लागि बोलपत्र आह्वान गर्न ५ सदस्यीय समिति बनाएको थियो। बोलपत्रका कागजात तयारका लागि निर्देशक सुनिल कुमाश कुशवाहको नेतृत्वमा समिति बनाइएको थियो। 

यता ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ३/४ अर्ब आम्दानी गर्दै आएको निगमका कर्मचारी प्राधिकरणको यो निर्णयले आन्दोलित भएका थिए। उक्त ग्राउन्ड ह्यान्डलिङबाट निगमले १ अर्ब हाराहारीमा नाफा गर्दै आएकामा प्राधिकरणले खोसेपछि नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलन नै घोषणा गरेको थियो। 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update