Public Pana
एमालेका सांसद कोइरीको निलम्बन फुकुवा

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।

सभामुख देवराज घिमिरेले महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरीको निलम्बन आइतबार फुकुवा गरेका हुन्।

संसद् सचिवालयका कार्यबाहक महासविच पद्मप्रसाद पाण्डेयले आइतबार सूचना जारी गर्दै कोइरीको निलम्बन फुकुवा भएको जानकारी दिएका छन्।

निलम्बन फुकुवा भएपछि अब कोइरीले संसद्‍मा उपस्थित हुन पाउनेछन्। यसका साथै अब उनले संसदीय समितिहरूका बैठकमा पनि भाग लिने बाटो खुलेको छ।

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले २०८० वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो। 

तर उक्त प्रकरणमा महोत्तरी जिल्ला अदालतले सफाइ दिएसँगै कोइरीले निलम्बन फुकुवाका लागि कोइरीले संसद् सचिवालयमा निवेदन दिएका थिए। 

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले मंसिर २८ गते सफाइ दिने निर्णय सुनाएको थियो। कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका थिए।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।

मधेश आन्दोलनका क्रममा घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update