Public Pana
टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ । 
        
 वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । यो जितसँगै पुलिसले दुई अङ्क बटुलेको हो । 
    
 टस जितेर पुलिसले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको युपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रनको योगफल जोडेको थियो । युपी ११ का लागि लिखिल प्रताफे २४, जयदीप सिंहले १७, सुभम चौधरीले १५, भीम शर्माले ११ तथा मन्थन प्रसादले १० रनको योगदान दिनुभयो । युपी ११ का तीन जना खेलाडी रन आउट भएका थिए । 
    
 भारतको युपी ११ लाई मध्यम स्कोरमा रोक्न पुलिसका सागर ढकाल र रसिद खानले समान २÷२ विकेट हात पार्नुभयो । सो लक्ष्य पुलिसले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको छ । 
    
 पुलिसका लागि शङ्कर राणाले अविजित ३१ रनको योगदान दिनुभयो भने कप्तान आसिफ शेखले २३ तथा दिलीप नाथले २१ रनको महत्वपूर्ण पारी खेल्नुभयो । पुलिसका सुनिल धमला–७ तथा अर्जुन साउद शून्य रनमा रनआउट हुनुभयो । 
    
 भारतको युपी ११ का सहनसा अहमले २ विकेट लिनुभयो भने भीम शर्मा र असि अन्सारीले समान १÷१ विकेट हात पार्नुभयो । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका शङ्कर राणा घोषित हुनुभयो ।  
        
 प्रतियोगिताअन्तर्गत आज हुने दोस्रो खेलमा पर्सा ११ र भारतको भारतको वान्डर्स क्लबबीच हुने आयोजकले जनाएको छ । जीर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रङ्गशाला पुनःनिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो । प्रतियोगिता यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ । 
---

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update