Public Pana
कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज !

 सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ । यहाँ फोहर व्यवस्थापन सधँै चुनौती बन्दै आएको छ । फोहर व्यवस्थापनमा स्थानीय तह र फोहर सङ्कलन गर्ने कम्पनीसँगै पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलन गर्ने व्यक्तिको योगदान छ । हाल उपत्यकाका नगरपालिकाका साथै बनेपा, धुनीबँेसी र ककनी गरी २३ नगरपालिकाको फोहर नुवाकोटको बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ । 

 काठमाडौँ महानगरपालिकाका अनुसार सबै नगरपालिकाबाट दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सय टनसम्म फोहर सङ्कलन हुने गरेकोे छ । दैनिक करिब दुई सय सवारी साधनमा राखेर फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । सङ्कलित फोहरबाट पुनः प्रयोगीय वस्तु छुट्याउने मजदुर तथा दैनिक साइकलमा पुनः प्रयोगीय वस्तु न्यूनतम मूल्यका किनेर सङ्कलन गर्ने व्यक्तिका कामका कारण एक चौथाइभन्दा बढी फोहर व्यवस्थापनमा सहयोग पुगेको छ । त्यस्ता वस्तु भक्तपुर, बालाजु, वीरगञ्ज, हेटाँैडा, नवलपरासी, जनकपुरलगायत स्थानमा सम्बन्धित उद्योगले किनेर कच्चापदार्थका रुपमा प्रयोग गर्ने गरेका छन् ।   

 नेपाल पुनः प्रयोगीय वस्तु व्यवसायी सङ्घका अध्यक्ष रामहिरा पाठकले उपत्यकामा पुनः प्रयोगीय वस्तु (कवाडी) दैनिक ३५ गाडी सङ्कलन हुने गरेको जानकारी दिनुुभयो । सङ्कलनकर्ताले स्वतः गर्ने कामका कारण लगभग तीन सय ५० टन पुनः प्रयोगीय वस्तु दैनिक डम्पिङ साइटमा फाल्नु नपरेको उहाँको भनाइ । “यसबाहेक हामीले नेपालमा रहेका विभिन्न उद्योगलाई कच्चापदार्थका रुपमा पुनः प्रयोगीय वस्तु आपूर्ति गर्दै आएका छौँ । यस्तो कच्चापदार्थ पहिला सिङ्गापुर वा अन्य विदेशबाट ल्याउनुपथ्र्याे तर अहिले यहीँबाट नै आपूर्ति हुने गरेको छ,” अध्यक्ष पाठकले भन्नुभयो ।

सङ्घका अनुसार काठमाडौँ उपत्यकामा मात्र करिब पुनः प्रयोगीय वस्तु सङ्कलनकर्ता  सात हजार छन् । उनीहरु दैनिक साइकलमा घर घरबाट धातु, प्लास्टिक, कागज, बोरा, कपडा, मोबिल, टायर ट्युबलगायत पुनः प्रयोग हुने वस्तु न्यूनतम मूल्यमा उठाउँछन् । यसरी पुनः प्रयोगीय वस्तु किनेर कवाडीखानामा बेच्दा मासिक रु २० हजारदेखि रु ३० हजार आफ्नो कमाई हुने गरेको काठमाडौँको बुद्धनगरका कवाडी सङ्कलनकर्ता अजय यादवले बताउनुभयो । उहाँले कामका सिलसिलमा हेपाइ खानुपर्ने, बाटोमा भुस्याहा कुकुरले सताउने र कतिपय अवस्थामा त चोरीको आरोपसमेत खेप्नुपर्ने समस्या रहेको गुनासो गर्नुभयो । त्यसैगरी, उपत्यकामा एक हजार सात सय  पुनः प्रयोगीय वस्तु सङ्कलन स्थल (कवाडीखाना) रहेका छन् । ती वस्तु उद्योगमा आपूर्ति गर्ने थोक व्यवसायी भने ८० को हाराहारीमा रहेको बताइन्छ ।

विश्वमा फोहर उठाउने व्यक्ति र पेसाको संरक्षण तथा सम्मान भए पनि नेपालमा भने बेवास्ता गरिएको गुनासो गर्दै अध्यक्ष पाठकले भन्नुभयो, “यो पेसा हेपिएको अवस्थामा रहेको छ, कतिपय अवस्थामा त अपमान पनि सहनुपर्छ । सरकारबाट नियमन, संरक्षण र सम्मानका लागि पटकपटक आग्रह गर्याँै तर कुनै सुनुवाइ भएको छैन् ।”  

 विसं २०३८ देखि यो पेसामा आबद्ध हुनुभएका अध्यक्ष पाठकले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि कुनै सुनुवाइ नभएको बरु कर लगाउने काम भएको गुनासो गर्नुभयो । काठमाडौँ महानगरपालिकाले हाल कवाडी वस्तुमा कर लगाउन सुरु गरेको छ ।

यद्यपि सङ्घको पहलबाट सरकारी र विभिन्न शैक्षिक संस्थाका कागजपत्र आगो लगाउनुको सट्टा च्यातच्यूत गरी पुनः प्रयोग गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।  फोहरलाई मुख्य गरी पुनः प्रयोग नहुने र पुनः प्रयोग हुने गरी दुई भागमा वर्गीकरण गरिएको छ । त्यसमध्ये पुनः प्रयोग नहुने फोहरमा पनि सड्ने र नसड्ने वस्तु रहेका छन् ।

भान्साजन्य र अन्य फोहर सड्ने फोहर हुन भने माटाका भाँडा, सेरामिकका प्लेट, सुर्ती, गुट्खा, चाउचाउका प्याकेट आदि पुनः प्रयोग पनि नहुने र नसड्ने फोहर हुन् । त्यसैगरी, धातुजन्य, प्लास्टिकजन्य, कागजन्य र सिसाजन्य वस्तु पुनः प्रयोग हुने वस्तु हुन् । पुनः प्रयोगीय वस्तु (कवाडी) सङ्कलनकर्ताहरुले यी वस्तुमात्र सङ्कलन गर्ने गर्छन् ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update