Public Pana
एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको छः प्रधानमन्त्री

बिराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको दावी गरेका छन्।   मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहलाई शुक्रवार बिराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।प्रधानमन्त्रीले भने  ‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन निरन्तर क्रियाशील छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा थियो ।’

उनले एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको उल्लेख गर्नुहुँदै महंगी नियन्त्रणका दृष्टिले यतिबेला देश २ वर्षयताकै प्रगतिमा रहेको बताए । 

उनले भने , ‘एक वर्षको अनवरत प्रयास र निजी क्षेत्रको सहयोगमा अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको छ । महंगी नियन्त्रणका दृष्टिले यतिबेला हामी २ वर्षयताकै प्रगतिमा छौं । वार्षिक औसत महंगीदर ७.११ प्रतिशत रहेकोमा अघिल्लो महिना त्यसमा कमि आई ५.३८ प्रतिशतमा झरेको छ ।’ प्रधानमन्त्रीले भुक्तानी सन्तुलनका दृष्टिले समेत राम्रो प्रगति हुँदै गएको र निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रकम भुक्तानीको प्रक्रिया अगाडि बढेको बताए । प्रधानमन्त्री प्रचण्डले भने ‘यसले एकातर्फ अर्थतन्त्रलाई चलायमान तुल्याउने छ भने अर्कोतर्फ नयाँ आयोजनाहरुको निर्माण प्रक्रियाले तीव्रता लिनेछ । अर्थतन्त्र सुधारका दृष्टिले यो आफैमा महत्वपूर्ण पहल हो ।’

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update