Public Pana
के हो वास्तु, किन  मिलाउन आवश्यक छ?

वास्तु के हो? वास्तु जीवनयापनमा आवश्यक छ? किन आवश्यक छ त? यो वास्तुको विषयमा धेरैको चासो छ तर वास्तुको बारेमा धेरै कुरा थाहा पाउन सकिएको छैन।

रोटरी क्लब नक्साल शक्तिको आयोजना तथा डा लुना अर्यालको समन्वयमा भएको ‘वास्तु फर लाइफ’ सेमिनारमा वास्तुसँग सम्बन्धित विषयमा छलफल भएको थियो।

कार्यक्रममा आचार्य नरेश राजवीर शर्माले आफ्ना विचार प्रस्तु गरेका थिए। उनको तर्क छ- वास्तुलाई धार्मिक हिसाबले बुझ्ने गरिन्छ। जीवनलाई वास्तुले कसरी प्रभाव पारेको छ त? वास्तु भनेको हामी बस्न योग्य स्थान हो। वास्तु शास्त्रको शुरुवात हाम्रा पुर्खाहरुले करिब १२ हजार वर्षअघि नै सुरु गरेका हुन्। कुन दिशामा आवास निर्माण गर्ने?, कुन दिशातर्फ फर्किएर खाना खाने, कुन दिशामा विस्तरा लगाउने भन्ने कुरा त्यही बेलादेखि सुरुआत भएको पाइन्छ। 

प्राचीन युगमा जो वास्तुको ज्ञाता थिए। सबै पण्डित नै हुन्थे र पछिल्लो समयमा आएर पनि वास्तु विधि पण्डितलाई मात्रै थाहा हुन्छ भन्ने चलन थियो। यो वास्तु शास्त्रलाई त्यतिबेला गोप्य शिक्षाको रुपमा दिने चलन पनि थियो। त्यतिबेला वास्तुलाई धार्मिक हिसाबले बुझ्न थालियो। अहिले पनि वास्तुलाई धार्मिक रुपले बुझ्ने गरिन्छ।

वास्तु विधि विशेष गरी धनसम्पत्ति कमाउन प्रयोग गरिन थालियो। त्यतिबेलाका राजा महाराजाले यो वास्तु विधिलाई धनसम्पत्ति कमाउन प्रयोग गर्थे। त्यसपछि सबै धनी नहुन् भनेर यो शिक्षालाई गोप्य रुपमा राखिएको थियो र सीमित वर्गमा मात्रै यो सीमित भएर बस्यो।

समय परिवर्तन भएसँगै मान्छेको सोच परिवर्तन भयो र पछि यो शिक्षा बाहिर आयो। यो शिक्षा बाहिर आएपछि सबैले वास्तु विधिको प्रयोग गर्न थाले। अहिलेसम्म आइपुग्दा वास्तु फेसनको रुपमा प्रयोग भएको पाइन्छ। अरुको देखासिकी गर्दा वास्तु विधिको प्रयोग सही तरिकाले गरिएको पाइँदैन।

कतिपयले कुन वस्तु कुन स्थानमा राख्ने थाहा पनि छैन। यसरी थाहा नहुँदा समस्या आउन सक्छ। वास्तु विधिअनुसार आफ्नो घरमा राखिएका जुनसुकै वस्तु वास्तु विधि अनुसार नमिल्दा घरमा झै–झगडा हुने, बिरामी पर्ने, डरलाग्दा घटना घट्ने जस्ता समस्या आउन सक्ने मान्यता छ।

सदुपयोगभन्दा दुरुपयोग बढी भइरहेको छ। वास्तु अनुसार कसरी सामग्री राख्ने अथवा यसले के–के फाइदा पुग्छ भन्नेबारे थाहा हुनु पर्दछ। वास्तु भनेको एउटा ऊर्जालाई एउटा दिशातर्फ कसरी मिलाएर राख्ने भन्ने हो। कुनै वासस्थान घर होस या अफिस जस्ता ठाउँको ऊर्जालाई मिलाउँदै लैजान प्रमुख तत्व वास्तु हो। पृथ्वीमा चार दिशा छन्। उत्तर, दक्षिण, पूर्व र पश्चिम। यी चार दिशा बीचमा पनि अर्को चार वटा कर्नर छन्। उत्तर र दक्षिणको बीचमा एउटा, दक्षिण र पूर्व, दक्षिण पश्चिम पूर्व र पश्चिम, पश्चिम र उत्तर यी सबैको आ–आफ्नो ऊर्जाले कार्य गरेको हुन्छ।

 

त्यो अनुसार काम गरे सकारात्मक पर्दछ भने त्यो विपरीत काम गरे नकारात्मक प्रभाव पर्दछ। यो दिशा हरेक वासस्थानमा हुन्छ। यही दिशामा पञ्चतत्व बसेको हुन्छ। जल, वायु, पृथ्वी आकाश र अग्नि। यहि तत्व मिलेर हाम्रो शरीर बनेको हुन्छ। हाम्रो घरमा पनि यही पञ्च तत्व बसेको हुन्छ। उत्तरमा जल तत्व बसेको हुन्छ। दक्षिणमा अग्नि तत्व बसेको हुन्छ। पूर्वमा हावा तत्व बसेको हुन्छ। पश्चिममा आकाश र पृथ्वी दक्षिण र पश्चिमको बीचमा हुन्छ।

जसरी तत्वले शरीरलाई चलाएको हुन्छ त्यसरी नै यो तत्वले घरलाई चलाइरहेको हुन्छ। यी तत्वको विपरीतमा हामीले काम गर्‍यौं भने नकारात्मक प्रभाव पार्दछ र सही स्थानमा सहि राख्यौं भने सकारात्मक प्रभाव पार्दछ। जस्तो कि दक्षिणमा अग्नि तत्व हुने हुँदा खाना पकाउने भान्सा कोठा राख्न मिल्यो तर त्यहाँ बाथरुम राख्न हुँदैन। त्यहाँ बेडरुम पनि राख्न सकिन्छ। त्यस्तै पूर्वमा लिभिङ रुम राख्न सकिन्छ। ट्वाइलेट बाथरुम भने पृथ्वी भएको स्थानमा राख्न उत्तम मानिन्छ।

घर बनाउनु अघि कुनै पनि इन्जिनियरले वास्तु मिलाएर नक्सा बनाएर दिएको हुन्छ। तर इन्जिनियरले भनेअनुसार बनाउने तर त्यसमा कस्तो रङ प्रयोग गर्ने भन्ने पनि पञ्च तत्वअनुसार प्रयोग गर्नुपर्छ। जसअनुसार उत्तरतर्फको कोठमा जल हुनेभएकाले निलो, दक्षिणमा अग्नि रङ रातो, पश्चिममा सेतो र पृथ्वी भएको स्थानमा पहेँलो रङ लगाउन पर्छ। त्यसै अनुसार घरभित्रको सबैभन्दा अग्लो स्थानमा भगवान्‌को फोटा र मूर्तिहरु राख्नपर्छ। त्यसलाई इैशान कोण पनि भनिन्छ। तर यस अनुसार मिलाउन सकिएन भने घरमा समस्या आउन सक्छ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update