Public Pana
ऐतिहासिक रेकर्डहरु बनाउदै सरकार सफल भएकाे प्रधानमन्त्री प्रचण्डकाे दाबी

काठमाडाै- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले ऐतिहासिक रेकर्डहरु बनाएको दाबी गरेका छन् ।

प्रधानमन्त्री बनेको एक वर्षमा भएका कामकारबाही मन्त्रालयगत समीक्षा गरिरहेका प्रचण्डले सरकार सफल भएको दाबी गरेका हुन् ।

‘मैले जति सकेको हो, जसरी सोचेको हो, त्यसरी नै सफल भयो भन्ने त मेरो पनि दाबी छैन’, उनले भने ‘किनभने गठबन्धनको सरकार हो, धेरै सीमाहरु हुन्छन्, सबैलाई मिलाएर लैजाने जिम्मेवारी हुन्छ ।’

त्यसका बाबजुद सरकारले जेजति काम गरेको छ, त्यो सफल भएको उनले दाबी गरे । कतिपय सञ्चार माध्यमले कुरै नबुझी सरकार असफल भयो भनेर लेखेको भन्दै उनले अगाडि भने, ‘सुरुदेखिको प्रत्येक घटना हेर्नुभयो भने यस्तो अप्ठ्यारो र जटिल परिस्थितिमा कयौं ऐतिहासिक रेकर्डहरु बनेका छन् ।’

मिटरब्याज समस्या समाधान भएको र सुशासनको पक्षमा यो सरकारले चलाएको जस्तो कारबाही प्रक्रिया कहिल्यै नचलेको उनको दाबी छ । ‘अन्तर्राष्टिय सम्बन्धका दृष्टिले हेर्नुभयो भने सरकार पुरै सफल छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सफल मात्र नभएर ऐतिहासिक रुपले सफल छ भन्न सकिन्छ ।’

उनले अब नयाँ ढंगले जाने तथा विकास निर्माण र जनताको सेवाको कामहरुलाई अफेन्सिभ रुपमा अगाडि लैजाने तयारी गरिरहेको बताए । उनले भने, यो प्लान अनुसार मन्त्रालयलाई टार्गेट दिइन्छ । त्यो पूरा भएन भने कडा रुपमा जाने हुन्छ ।’

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update