Public Pana
नेपाल र श्रीलंकाका परराष्ट्र मन्त्रीको संयुक्त अध्यक्षतामा संयुक्त आयोगको बैठक सुरु

 काठमाडाै- नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठक नेपालका परराष्ट्र मन्त्री एनपी साउद र श्रीलंकाका परराष्ट्र मन्त्री अली साब्रीको सह अध्यक्षतामा काठमाडौंमा सुरु भएको छ। 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री साउदले गरिरहेका छन्। सो मण्डलमा परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। 

श्रीलंकाको प्रतिनिधिमण्डलमा मन्त्री साब्री, काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन्। 

बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, हवाइ उडान विस्तार गर्ने, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्ने लगायत क्षेत्रीय सहयोग र बहुपक्षीय फोरमहरूमा सहकार्य गर्ने एजेण्डामा छलफल केन्द्रित रहेको छ। 

छलफलका क्रममा मन्त्रीहरुले काठमाडौं-कोलम्बो हवाई सम्पर्कको सुरुवात उत्साहजनक रहेको र कोलम्बो र लुम्बिनीबीच हवाई सम्पर्कको सम्भावनाबारे छलफल भइरहेको परराष्ट्रले उदृत गर्दै बताएको छ। 

 

यस्तै, छलफलका क्रममा नेपाली पक्षले श्रीलङ्कामा थुनामा रहेका तीन नेपालीको स्थानान्तरणको सम्भावनाबारे पनि जिज्ञासा राखेको छ। यसमा श्रीलङ्का पक्षले सकारात्मक जवाफ दिएको उल्लेख छ। 

त्यस्तै, दुई मन्त्रीले जलवायु परिवर्तनले आ-आफ्नो देशले भोग्नुपरेको गम्भीर असरबारे विचार आदान-प्रदान गरेको र उनीहरूले जलवायुका कारण पाउनुपर्ने न्याय, नोक्सान र क्षति कोषको प्रारम्भिक परिचालन र थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन्। 

यस्तै, यही बैठकबाट विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तयारी रहेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update