Public Pana
राष्ट्रिय सभा सदस्य निर्वाचनमा २०४७ जना मतदाताको नामावली स्वीकृत

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् । यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको छ ।

निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update