Public Pana
४० कराेडमा विके मिचेल स्टार्क

एजेन्सी -  अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग(आइपिएल) २०२४ को अक्सनमा कीर्तिमानी मूल्यमा बिक्री भएका छन् ।

उनलाई कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाखमा खरिद गरेकाे छ । याे झन्डै ४० करोड नेपाली रुपैयाँ (३९ करोड ४६ लाख ९४ हजार) हाे । यो आइपिएल कुनैपनि खेलाडीले पाएको सर्वाधिक मूल्य पनि हो । यसअघि एक घण्टा अघि मात्रै सनराइजर्स हैदराबादले प्याट कमिन्सलाई २० करोड ५० लाख भारु ( झन्डै ३३ करोड) नेपाली रुपैयाँमा किनेको थियो । जुन आइपिएल इतिहासकै सर्वाधिक मूल्य थियो ।

कमिन्स अघि गतवर्ष पन्जाब किंग्सले साम करनलाई १८ करोड ५० लाख भारुमा किनेको थियो । स्टार्कले कमिन्सको कीर्तिमान तोड्दै इतिहासमै सर्वाधिक मूल्य पाएका हुन् । स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए । सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो । त्यसपछि कोलकाताले मूल्य लगाएको थियो ।

त्यसपछि गुजरात पनि थएिको थियो । ९ करोड ६० लाखपछि दिल्ली र मुम्बई दुबै पछि हटेका थिए । त्यसपछि गुजरात र कोलकाताबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि लगातार प्रतिस्पर्धा हुँदा २४ करोड कटेको थियो । २४ करोड ५० लाख सम्म गुजरातले मूल्य लगाएको थियो । तर त्यसपछि गुजरात पछि हटेको थियो । स्टार्कले २०१४ मा बेंगलोरबाट आइपिएलमा दिल्लीविरुद्ध डेब्यू गरेका थिए । २०१५ पछि स्टार्कले आइपिएल खेलेका छैनन् । स्टार्कलाई २०१८ को अक्सनमा कोलकाताले ९ करोड ४० लाख भारुमा किनेको थियो । तर चोटका कारण खेलेका थिएनन् । पछिल्लो केहि वर्ष यता स्टार्कले अक्सनमा आफ्नो नाम नै दिएका थिएनन् । अष्ट्रेलियाको टोली र परिवारलाई समय दिने भन्दै आइपिएल नखेल्ने निर्णय लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update