
काठमाडाै- एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते शुक्रबार रिट दायर गरेका थिए। रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले कारण देखाऊ आदेश जारी गरेका हुन्।
सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
सासद सिंहले दायर गरेको रिटमा लगातार पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको थियाे।
एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रिनोल्ड होल्डिङ्स लिमिटेडको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा मलेसियन कम्पनी आजियटा र स्पेक्ट्रलाइट युकेबीच सहमति भएको विषय बाहिरिएको थियो। एनसेलको ८० प्रतिशत सेयर किनबेच हुँदा नेपालको नियामक निकाय दूरसञ्चार प्राधिकरणबाट स्वीकृति लिइएको थिएन। यस्तै, उक्त सेयर किनबेचबारे आन्तरिक राजस्व विभागलाई पनि जानकारी थिएन।