Public Pana
दूरसञ्चार प्राधिकरणद्धारा सीजी टेलिकमको लाइसेन्स खारेज 

चौधरी समूहको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) कानुनतः खारेज भएको छ । 

कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिँदा लाइसेन्स स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरण जनाएको छ ।

सीजी टेलिकमले मंसिर १६ मा अनुमतिपत्र नवीकरण गर्नु पर्ने थियो । तर, उक्त अवधिभित्र नवीकरणका लागि पत्र प्राप्त नभएको प्राधिकरणले जनाएको छ । सीजी टेलिकमले २०६० मंसिरमा ग्रामीण दूरसञ्चार सेवाका लागि अनुमति पाएको थियो । 

अनुमतिपत्र प्राप्त गर्दा उल्लेख गरिएको सर्तमा कम्पनीले ‘लेटर अफ क्रेडिट’ बुझाए पश्चात् मात्रै अनुमतिपत्र कायम हुने भनी उल्लेख गरिएकाले पहिलो पटक नवीकरण गर्दा मंसिर १६ (डिसेम्बर २) को मिति कायम भएको थियो । 


सोही आधारमा मंसिर १६ भित्र कम्पनीको नवीकरण हुनुपर्ने थियो । कम्पनीले समयमा आवेदन नदिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । 

उनले भने, ‘समयमा निवेदन नदिएको हो ।’

दूरसञ्चार ऐन, २०५३ को दफा २५ मा म्यादभित्र अनुमतिपत्र नवीकरण नगरे स्वतः खारेज हुने उल्लेख छ । ऐनको दफा २५ मा अनुमति पत्रको अवधि बढीमा २५ वर्षको हुने भनी उल्लेख गरिएको छ । तर, एक पटकमा १० वर्षभन्दा बढी अवधिको लागि अनुमतिपत्र दिन नमिल्ने व्यवस्था ऐनमा छ ।
 
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update