Public Pana
राती निन्द्रा लागेन यी हुन् उपाय र समाधानमा डाक्टरको सुझाव

काठमाडाै- समयमा नसुत्ने र पर्याप्त ननिदाउने बानीले मानिसको दैनिकीमा प्रत्यक्ष असर पुर्‍याएको र दीर्घकालीन समस्याहरू निम्त्याएका घटना धेरै छन् । 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को पछिल्लो रिपोर्टअनुसार विश्भर ३२ प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको निन्द्रासम्बन्धी समस्या छ, जसकारण उनीहरू सात घण्टाभन्दा कम सुत्छन् । 

दिनमा निदाउनु, कामका ध्यान दिन नसक्नु, चिडचिढापन आउनु, अधिक गल्नुजस्ता समस्या अनिन्द्राका कारण दैनिक जीवनमा देखिने असरहरू हुन् । तर, यसको दीर्घकालीन असर घातक हुने चिकित्सकहरुको चेतावनी छ । 

पर्याप्त समय नसुत्नु वा विभिन्न कारणले निन्द्रा नुपुर्‍याउनु (स्लिप डिप्राइभेसन) शरीरका लागि 'ऋणको भारी बोक्नु'जस्तै भएको र त्यसबाट शारीरिसक र मानसिक समस्या देखिने नाक कान घाँटीरोग बिशेष डा. शास्वत कटुवाल बताउनछन् । 

डा. कटुवाल भन्छन  “पर्याप्त ननिदाउने व्यक्तिहरूमा मोटोपन, मधुमेह, उच्च रक्तचाप, हृदयघातजस्ता गम्भीर समस्या देखिन सक्छन् , त्यतिमात्रै होइन नियमितरूपमा कम निदाउने व्यक्तिमा स्मरणशक्ति कम हुने र विभिन्न प्रकारको मानसिक समस्या देखिन सक्छन्,” 

पर्याप्त  ननिदाउने व्यक्तिले चलाएको सवारी दुर्घटना हुने जोखिम अन्यभन्दा सात गुणाले बढी हुने उनको भनाइ छ । 

निन्द्रा सहज बनाउन के गर्ने ?

धेरै मानिसहरूको बानी हुन्छ, ओछ्यानमा पुगेर पनि मोबाइल ल्यापटपमा भुलिरहने, समयमा ननिदाउने । कतिपय ढिलो सुत्ने र बिहान अबेरसम्म निदाउने तथा दिउँसो सुत्ने गरेको पनि पाइन्छ ।

तर, स्वास्थ्यका दृष्टिकोणले यी दुवै शैली फाइदाजनक होइनन् । स्वस्थ निन्द्राका लागि एउटै समयमा निदाउने एउटै समयमा उठ्ने र नियमित व्यायाम गर्नु सबैभन्दा उत्तम उपाय भएको डा. कटुवालको सुझाव छ । 

त्यस्तै, दिउँसो सकेसम्म नसुत्ने, सुतिहाले ४० मिनेटभन्दा बढी ननिदाउने, सुत्नुभन्दा चार घण्टा अघिसम्म मात्रै व्यायाम गर्ने बानी पनि स्वस्थ निन्द्राको उपाय हो । निन्द्राको सम्बन्ध खानासँग पनि भएकाले सुत्नुअघि मसालेदार खानेकुरा नखाने, मदिरा सेवन नगर्ने र सजिलो लुगा लगाएर सुत्ने गर्नुपर्दछ ।

यदि सुतेको आधा घण्टासम्म पनि निन्द्रा नलागेमा उठेर आफूलाई रुचि भएको काम गर्ने र फेरि सुत्ने गर्नु बानी गर्नु उपयुक्त हुन्छ ।

घुर्ने बिरामीको निद्राको जाँच

यदी राती सुतेको बेला बिरामीमा अधिक घुर्ने बानी भए त्यसको पनि उपचार गराउनुपर्ने डा. कटुवालको सुझाव छ । उनी भन्छन धेरै जसो मानिसको घुराई असमान्य हुन्छ यदी त्यस्ता व्यक्तिहरु सुतेको बेला अधिक घुर्छन भने उनीहरुको निद्राको अध्ययन गर्नुपर्ने हुन्छ । स्लिप स्टडी गरेर बिरामीलाई भविष्यमा आउन सक्ने स्वास्थ्य समस्याको जोखिमबाट बचाउन सकिन्छ ।  डा.शास्वत कटुवाल अल्का अस्पतालमा कार्यरत छन् । 

 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update