Public Pana
माओवादी सचेतकको नेतृत्वमा सांसदहरू लागे चीनतिर

संघीय संसद्का सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि आज सोमबार  बेइजिङ प्रस्थान गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट मध्यान्ह छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेको हो । 

भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एकजना छन् ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो। 

चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका छ। 

टोलीमा कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा छन्। 
एमालेबाट दामोदर बैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने पनि टोलीमा छन्। उता माओवादी केन्द्रबाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी पनि चीन गएका छन्।

भ्रमण टोलीमा संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन्।

१० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौँ फर्कने कार्यक्रम छ।
 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update