Public Pana
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह शुरु

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह अहिले शुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहिबेरअघिदेखि उक्त समारोह सुरु भएको हो ।

समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए । समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उनले बताए। यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् ।

त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए ।

विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने उनले बताए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुने बताइएको छ । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिने छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update