Public Pana
बालकृष्ण  खाण छुटेपछि  सर्वोच्च पुग्न थाले थुनामा रहेका  अभियुक्तहरु

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पनि थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायीक हिरासतमा रहेकाहरु त्यस विरुद्ध सर्वोच्च पुग्न थालेका छन् ।  
उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौको आदेश सदर गर्दै  प्रतिवादीमध्ये पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै पठाएको थियो । 
त्यस विरुद्ध पूर्व सांसद आङटावा शेर्पाले सर्वोच्चमा वेरितको निवेदन दिएका छन् । उनले जिल्ला अदालत काठमाडौ र उक्त आदेश सदर गर्ने उच्च अदालतको आदेश त्रुटीपूर्ण भएको दावी गरेका छन् । उच्चले सोही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटी मागेपछि उनी शुक्रवार रिहा भएका छन् । शुरुमा दुई न्यायाधीशको रायवाझी भएपछि एक न्यायाधीशको इजलासले खाणलाई ३० लाख धरौटी माग गर्ने आदेश गरेको थियो । शेर्पाले पुस १ गते उच्च अदालत पाटनको आदेश बदर माग गर्दै निवेदन दिएका हुन् । उक्त निवेदन सोमबार पेशी पनि तोकिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त निवेदन पेशीमा रहेको छ। 
त्यस्तै थुनामा रहेका पूर्वमन्त्री रायमाझी, सचिव टेकनारायण  पाण्डे  र गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसहितले सर्वोच्चमा निवेदन दर्ता गराउने तयारी गरेका छन् । पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेका कानुन व्यवसायीेले यो साता नै वेरितको निवेदन दर्ता गराउने तयारी गरेका छन् । 
मंसिर १५ गते न्यायाधीशद्धय पाण्डे र खरेलको इजलासले केही प्रतिवादीसँग धरौटी मागेको थियो भने अन्य ९ जनालाई थुनामै पठाएको थियो । 
उक्त इजलासले सोही अभियोगमा पक्राउ परि थुनामा रहेका रायमाझीका छोरा सन्दिपलाई भने धरौटी माग गरेको थियो । 
अभियोग लागेका ३० प्रतिवादी मध्ये १२ जना हालसम्म फरार नै छन् भने  १८ जना अभियोगपत्रसगै पेश भएका थिए ती मध्ये दुई पूर्वमन्त्री तथा गृह सचिवसहित १६ अभियुक्तलाई असार १ मा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।  त्यसविरुद्ध उच्च अदालतमा उनीहरूले दायर गरेको निवेदनमाथि अन्तिम आदेश जारी गर्दै पाण्डे र खरेलको संयुक्त इजलासले पूर्वमन्त्री रायमाझीसहित ९ जनाका हकमा जिल्ला अदालतको आदेशलाई उच्चले सदर गरेको थियो ।  टेकनाथ रिजालसहित ६ लाई धरौटीमा तथा ४ लाई साधारण छाड्न आदेश उच्चले गरेको थियो । 
उच्चले पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई ‘तत्काल प्राप्त प्रमाणहरूका आधारमा’ जिल्ला अदालतले थुनामा राख्नु भनी गरेको निर्णय मिलेको ठहर गरेको थियो । 
उच्च अदालतले खाणका पीए नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख, टेकनाथ रिजाल, हरिभक्त महर्जन र रामशरण केसीलाई १५ लाख, सन्दीप रायमाझीलाई ३० लाख लिएर धरौटीमा छाड्ने आदेश गरेको थियो  । लक्ष्मी महर्जन, टंककुमार गुरुङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश भएको छ । उच्च अदालतका प्रवक्ता भट्टराईका अनुसार जिल्ला अदालतमा आइतबार पत्र पुगेपछि उनीहरू धरौटीमा छुट्नेछन् । अमेरिका लैजाने प्रलोभनमा नक्कली भुटानी शरणार्थी खडा गरेर संगठित रूपमा रकम असुलेको अभियोगमा सरकारले पूर्वमन्त्रीद्वय खाण र रायमाझीसहित ३० विरुद्ध जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते संगठित अपराध, किर्ते र ठगीमा मुद्दा दायर गरेको थियो ।


 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update