Public Pana
बाजुरा ट्याक्टर दुर्घटना अपडेट : मृत्यु हुने ४ जनाकै सनाखत

 

बाजुरा मार्तडीघटमुना सडकमा पर्ने बडीमालिका नगरपालिका–२ खडीगाडमा आज बेलुकी ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

बडीमालिका नगरपालिका–२ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका–६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले जानकारी दिनुभयो । 

मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुबै ट्याक्टर दुर्घटना भएको नायब उपरीक्षक बोहराले  बताउनुभयो । लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो ।

लु ४ त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालकसहित चार जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । 

सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक किशोरसिं ऐरी नेतृत्वको टोली खटिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहरा बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update