Public Pana
गत साताभन्दा यो साताको पहिलो दिन शेयर बजार २ हजार बिन्दुभन्दा माथि पुग्यो

शेयर बजारमा गएको साता देखिएको उछाललाई साथ मिल्ने गरी यो साताको पहिलो कारोबारले पनि लगानीकर्ताका लागि सुखद संकेत गरेको छ ।


लामो समय उतारचढावमा रहेको बजारमा अहिलेको अवस्थाले उचाइतर्फको संकेत गरेको छ।
गएको सातायता बजारमा १६९.५६ अंकको सुधार देखिएको छ। 


गएको साता १४१.८१ अंकको सुधार देखिएको बजारमा यो साता आइतबार पनि वृद्धि देखियो। आइतबार २७.७५ अंकले बढेर बजार २०२२.३५ बिन्दुमा पुगेको छ।


१८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ।

५२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 


लामो समय ओरालो लाग्दै कमजोर बनिरहेको बजार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि उचालिएको हो।
स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिको समीक्षामार्फत हुने व्यवस्थाको पर्खाइमा थिए।

जसमा शेयर कर्जामा राष्ट्र बैंक नरम देखिएसँगै दोस्रो बजार उचालिएको हो।

 २०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसिरहेको थियो।

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजार उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहँदा अब भने पुनः उचाइतर्फको संकेत गरेको छ। 


गएको साता आइतबार १११.२० अंकले बढेको शेयर बजार सोमबार १५.४० अंकले घटेको थियो। मंगलबार ३६.८६ अंकले बढेको बजार बुधबार २.६० अंकले र बिहीबार पुनः ६.५५ अंकले बढेको थियो ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update