मिथिलाके सियाराम जगतजननी एछ , अर्थात् मिथिलाकी छोरी सीता र उनका श्रीमान् राम जगतका जननी हुन् भन्ने उक्ति आज पनि मिथिलाका घरघरमा सुनिन्छ । रामायण कहिँ ज्यूँदो छ भनें मिथिलावासीको हृदयमा छ, विवाह पञ्चमीमा त्यो प्रष्ट देखिन्छ पनि ।
अपहृते शची भार्या शक्यमिन्द्रस्य जीवितुम् ।
नहि रामस्य भार्या मामानीय स्वस्तिमान् भवेत् ।।
बरु भगवान् इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान् रामकी पत्नीलाई अपहरण गर्नेलाई रामले विनाश गर्नुहुनेछ, यो अकाट्य छ ।
आजको दिन यसको महिमा अझ राम्रोसँग बुझ्न सकिन्छ । विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बोक्ने आजको दिन हो, विवाह पञ्चमी । राम सीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्साउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिन सकिन्छ । मिथिलावासीहरूले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेष गरि जनकपुरमा आजको दिन ठुलै उत्सव लाग्छ; सागरहरू छेउमा आरती गरिन्छ, राम जानकी मन्दिर धूमधामले सजाइन्छ अनि साँझमा आरतीहरू मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरूको कीर्तिको गुणगान गाइन्छ ।
नेपालमा रामायण ज्यूँदो छ
मैले मेरा विभिन्न आलेख र अध्ययनमा नेपालमा रामायण ज्यूँदो छ भनी आएको छु, यसको ज्वलन्त उदाहरण नै विवाह पञ्चमी हो । विवाह पञ्चमी प्राचिनकाल देखि नै मिथिलावासीहरूले मनाउँदै आएका छन् र आज पनि उत्तिकै रौनकका साथ मनाइँदै आएको छ ।
जनकपुरमा हरेक सन्ध्या सागरहरू छेउमा आरती गरिन्छ, रामायणको स्मरण गरिन्छ अनि आरतीसँगै सीताका महिमाहरू स्मरण गरिन्छ, रामका कृतिहरूको यश गाइन्छ ।
त्रेता युगमा आजैको दिन अयोध्याबाट राजकुमार राम आएर मिथिला राज्य को राजधानी जनकपुर धाममा राजकुमारी सितालाई विवाह गर्नुभएको तिथि मानिन्छ । त्रेता युगको रामायणका प्रसङ्ग अन्तर्गत विवाह पञ्चमीको व्याख्या गर्न चाहयौं, मङ्सिर शुक्ल पञ्चमी अर्थात् आजैको दिन आदर्श जोडी राम सिताको विवाह नेपालको जनकपुरमा वैदिक सनातन हिन्दु संस्कृति अनुसार भएको हो ।
सप्ताहव्यापी रूपमा गरिने विवाह उत्सवमा राम जानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । त्यही भएर जो कसैले पनि विवाह पञ्चमीका दिन विवाह गर्दा साइत हेर्नु नपर्ने पौराणिक मान्यता रहँदै आएको छ ।
सीता माताको जन्मः वाल्मीकि रामायण
राजा जनक को शब्द साभार गर्दै छु ।
अथ मे कृषत स् क्षेत्र लांगलादुत्थिता तत ।। १३ ।।
क्षेत्रं शोधयता लब्धा नाम्ना सीतेति विश्रुता ।
भूतलादुत्थिता सा तु व्यवर्धत ममात्मजा ।। १४ ।।
अर्थात् मैले हलो चलाउँदा फाली माथि उठ्यो, पृथ्वी वाट निस्केकी भएको कारणले मेरी छोरीको नाम सीता रहन गयो ।
सीताको जन्मस्थल
जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ । सीता अथवा जानकी रामायणकी मुख्य पात्र हुन् । सीता मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी हुन् । राम अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र हुन् । सीता नेपाल भूमिकी पुत्री पनि हुन् । आदर्श पत्नी, आदर्श माता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा आदर्श नारीको उदाहरण हुन् सीता । सीतालाई सच्चरित्रता, नारीत्व, मातृत्वाशल्य र करूणाका खानीका रूपमा सम्मान गरिन्छ ।
राजा जनकले संरक्षण गरिराखेको शिव धनु जो ठुला ठुला वीरहरूले पनि उचाल्न सक्दैनन् थिए, सीताले उक्त धनु पूजा कोठाको सर सफाइका बेला एक्लै वरपर सार्ने गर्थिन् । त्यसैले नै राजा जनकले शिव धनुमा ताँदो चढाउन सक्ने वीर पुरुषसँग मात्रै सीताको स्वयंवर गर्ने बाचा गरेका थिए । त्यही शिव धनुष अयोध्याका राजकुमार रामले उचाल्ने क्रममा भाँचिएपछि सीता र रामको विवाह धूमधामका साथ जनकपुरमा सम्पन्न भएको थियो । त्यही बेलादेखि विवाह पञ्चमी उत्सव मनाइँदै आएको हो । सीताका बहिनीहरू उर्मिला, माण्डवी र श्रुतकीर्तिको पनि रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नसंग विवाह भएको थियो ।
यो विवाह महोत्सव अपराह्नको समयमा गरिन्छ तर बिहानैदेखि राम जानकी मन्दिर सहित मिथिला क्षेत्रका अन्य मन्दिरहरूमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । उत्सवमा बाजागाजा, झाँकी, भजन कीर्तन र नाचगान गरिन्छ भने जन्ती र डोला हेर्ने भक्तजनको भक्तजनको घुइँचो लाग्ने गर्दछ । राम र सीताको स्वयंवर सकिएपछि दुलाहा र दुलहीलाई बोकी ल्याइएका रथहरूलाई बाजागाजा सहितको ¥यालीले जनकपुर नगर घुमाउँदै शोभा यात्रा गरिन्छ र जानकी मन्दिर क्षेत्रमा पुगेर अन्त्य गरिन्छ ।
यही प्राचीन पौराणिक महाविवाहको सम्झना स्वरूप आज पनि नेपालको जनकपुरमा भारतबाट आजको दिन दुरुस्तै जन्त लिएर आउने र राम, सीताको प्रतिमा प्राण प्रतिष्ठान गरेर विवाह गरी सीता बिदा गर्ने चलन छ । यसरी भारतबाट आउने जन्तहरूमा विशेषतः साधु, सन्तहरू हुने गर्दछन् । पोखरी, तलाउ तथा सुन्दर मैथिल संस्कारको धनी नगर जनकपुर आज अलौकिक सुन्दरताले भरिपूर्ण देखिन्छ । यो युगमा पनि राम सिताको विवाह उत्तिकै महत्त्वपूर्ण छ जति पहिले थियो । आज जानकी मन्दिर परिसरमा व्यापक मेला लागेको छ र जनकपुर वासीहरू त्रेतायूगदेखिको आफूहरूले चलाई आएको चलन र आत्मीयताको निरन्तरता दिइरहेका छन् ।
आजको दिन कसैले विवाह गर्दै हुनुहुन्छ भने साइत देखाउन पर्दैन किनभने आज पौराणिक रूपमा विवाहमैत्री दिन हो । यसरी सीता र रामको विवाहपश्चात्को रामायणको कथा त हामीमध्ये धेरैलाई थाहै छ । रामसँगै वनवास गएकी सीता एक आर्दश् पत्नी र देवीकारुपमा पुजिने महिला हुन् भने रामलाई आदर्श पुरुष र मर्यादा पुरुषोत्तमका रूपमा चिनिन्छ ।
रामायण
२४००० वटा पंक्तिभएको अनि ५०० वटा अध्याय र सात वटा खण्ड भएको ठुलो खण्डकाव्य रामायण यिनै राम र सीताको जीवनका आरोह अवरोहको कथा हो । पहिलेका रत्नाकर डाँकु पछि गएर वाल्मीकि ऋषिले लिपिबद्ध गरेको रामायण नेपाल, श्रीलङ्का, थाइल्यान्ड, कम्बोडिया, मलेसिया र ईण्डोनेसियामा पनि एकदमै प्रचलित छ ।
रामायणका यिनै पङ्क्तिहरूलाई वाल्मीकि ऋषिले रामका पुत्रहरू लव र कुशलाई कण्ठस्थ गराएका थिए । रामायणका पङ्क्तिहरू सुनेपछि रामले आफ्ना छोराहरूलाई ठम्याएका पनि हुन् ।
इतिहास भन्दा अगाडिदेखिको यो पावन उत्सर्गको भक्ति मार्गमा विशेष महत्त्व छ, राम सीता अटुट छन् र रहन्छन् ।
सीताको अग्निपरीक्षापछि रामायणले फरक कोण र मोड लिएको छ । नारी पुरुषको महत्त्व, समानता, पारिवारिक दायित्व, राज्य नीतिहरू अनि मर्यादाका पाठहरू सिकाएर रामायणले मानव समुदाय र सभ्यतालाई ठुलो गुण लगाएको छ ।
सीता अनि रामका कहानी र कथनहरू सदियौँ सम्म चलिरहोस् ।
यसबर्षको बिवाहपञ्चमीको शुभकामना सबैलाई ।