Public Pana
संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : मन्त्री शर्मा

 सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारणसभामा आज मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गति अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

“व्यवस्था परिवर्तनका लागि जसरी हामी एकजुट भयौँ, सोहीअनुसार व्यवस्था सुदृढीकरणका लागि सबै निष्ठापूर्वक लाग्नुपर्ने जरुरी छ । समाजका विकृति, विसङ्गती हटाई संस्कार, संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

समाजका हरेक क्षेत्रमा पहुँच र शक्तिवालाको बोलवाला चलेको उल्लेख गर्दै मन्त्री शर्माले रीति, थिति र अनुशासन कायम गर्न युवाको भूमिका रहनुपर्ने बताउनुभयो । 

उक्त कार्यक्रममा मध्यमाञ्चल साहित्यिक परिषद्का वरिष्ठ उपाध्यक्ष समिर शाहले देशको कला, संस्कृतिलाई जगेर्ना गर्न परिषद्ले अझ सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । विसं २०५१ मा स्थापित परिषद्ले पुराना प्रतिभालाई संरक्षण गर्ने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update