Public Pana
मन्दिरमा भेटी चढाउनुभन्दा आश्रममा दान गर्नू धर्म हुने प्रधानमन्त्री प्रचण्डको भनाइ
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताएका छन् ।

आज शनिबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा मानव सेवा आश्रम उद्घाटन गर्दै उनले मन्दिरमा गएर भेटी चढाउनुभन्दा मानव सेवा आश्रममा दान गरे धर्म मिल्ने बताएका हुन्। 

‘धर्म गर्नका लागि हामी विभिन्न भगवान्लाई पुज्न र भेटी चढाउन जान्छौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘ढुंगाको भगवान्लाई चढाएको भेटीभन्दा जिउँदो देवता बस्ने आश्रममा भेटी चढाए धर्म मिल्छ। सबैले आआफ्ना ठाउँबाट सक्दो सहयोग गरौँ।’

मानव सेवा आश्रमका लागि स्थानीय सरकार, प्रदेश सरकारलाई पनि सहयोग गर्न लगाउने र संघीय सरकारले पनि निरन्तर रुपमा सहयोग गर्ने वचन प्रधानमन्त्री प्रचण्डले दिए। 

उनले संघीय सरकारको समन्वयमा सातवटा प्रदेशलाई सात गाडी उपलब्ध गराउने प्रतिबद्धता पनि प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे। साथै, सडक मानव आश्रित भवन निर्माणका लागि समेत सरकारले सहयोग गर्ने उनले बताए। 

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख  अतिथि थिए भने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तानलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update