Public Pana
नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्सको प्रक्रिया अघि बढायो 

नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्सको प्रक्रिया अघि बढाएको छ । 


आज शुक्रबार बसेको बोर्डको सञ्चालक समिति बैठकले अर्थ मन्त्रालयसँग राय माग गर्ने निर्णय गरेको हो ।


नेपालमा हालसम्म एकमात्र धितोपत्र विनिमय बजारका रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालनमा छ। सरकारले नयाँ आवश्यकता रहेको उल्लेख गर्दै थप एकको लागि प्रक्रिया अघि बढाएको थियो ।


संसदीय समिति र सर्वोच्च अदालतले नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स दिने बाटो खुल्ला गरिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले समेत स्टक एक्स्चेञ्जलाई लाइसेन्स दिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए। तर प्रधानमन्त्री दाहाल लाइसेन्स दिन सकारात्मक भएसँगै बोर्डले अर्थ मन्त्रालयको राय माग गरेको हो। 


‘शुक्रबार बसेको बोर्ड बैठकले नयाँ स्टकको विषयमा के गर्ने भन्ने राय अर्थ मन्त्रालयसँग लिने निर्णय गरेका छौँ’, धितोपत्र बोर्ड सदस्य सुरकृष्ण बैद्यले भने, ‘अर्थ मन्त्रालयले दिएको रायको आधारमा बोर्ड अघि बढ्छ।’
धितोपत्र बोर्डले २०७९ असोज २ गते नयाँ स्टक सञ्चालनका लागि इच्छुक कम्पनीलाई ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो। तर त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भयो। 


अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते आवेदन माग खारेज गर्न माग गरेका थिए। २०७९  कात्तिक ४ मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्रक्रिया यथास्थितिमा राख्न आदेश दियो। 


पुरानो आदेशलाई चैत २६ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले भने रिट खारेज गरिदिए।  


लाइसेन्सको लागि बाटो खोलेसगै नेसनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले आवेदन दिए। तर तत्कालको लागि नयाँ लाइसेन्स प्रदान नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै निर्देशन दिएका थिए।


‘प्रधानमन्त्री नै नयाँ लाइसेन्स दिनकोलागि सकरात्मक भएको पाएका छौं,’ बोर्ड बैठकमा सहभागी अर्का सञ्चालक समितिले भने, ‘अर्थ मन्त्रालयले अगाडि बढाउन राय दिएसँगै आवेदक मध्ये एउटाले पाउँछ।’


नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन सकरात्मक सचिव कृष्णहरी पुस्कर अर्थमन्त्रालयमा ल्याइएको छ। 

नयाँ स्टक स्थापनाका लागि ३ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ। यसमध्ये संस्थागत लगानीकर्ताले ७० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ।


तीन कम्पनीमा बलियो दाबेदार हिमालयन स्टक एक्सचेञ्ज रहेको छ। हिमालयन स्टक एक्सचेन्जको मुख्य लगानीकर्ताहरू शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन्।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष शतिस मोर, ज्योति ग्रुप सौरभ ज्योति छन्। 


नेपालका लागि मिस्सुबिसी कम्पनीको आधिकारिक विक्रेता आशिष श्रेष्ठ, रमेश कर्पका रोहित गुप्ता, मेरिएट होटलका सञ्चालक शशिकान्त अग्रवालल, दुगर्ड गु्रपका विवेक दुगड र राजेन्द्र खेतान छन्। 


नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ। रविजंग लामिछाने,सिद्धार्थ, अग्नि, रिलायन्स ग्रुप यसमा मुख्य लगानी छ।


त्यस्तै अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update