Public Pana
उल्लेखनीय योगदान गरेकालाई काठमाडौं महानगरको सम्मान

काठमाडौं महानगरपालिकाले २९औँ महानगर दिवसका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान  गरेका व्यक्तित्वलाई सम्मान गरेको छ ।

राजधानीको सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा महानगरपालिकाले समाजसेवी, कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकारलगायतलाई पुरस्कृत तथा सम्मान गरेको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ प्राध्यापक सन्दुक रुइत, अभिनेत्री मनिषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरे ।


यसैगरी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मीरा चौधरी, पूर्वकप्तान फुटबलर बालगोपाल महर्जन, नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्का, कराते खेलाडी एरिका गुरुङ, महिला बास्केटको क्याप्टेन सविना श्रेष्ठ र कराते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पनि उनले पुरस्कृत गरे । पुरस्कृत व्यक्तित्वलाई जनही रु एक लाख ५० हजार प्रदान गरिएको थियो ।

महानगरप्रमुख बालेन शाहले तीनकुनेको जग्गा मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या र फोहर व्यवस्थापनको दीर्घकालीन समस्या समाधान गर्न बाँकी रहेको बताए ।

उनले महानगरका ३२ वटै वडाका सांस्कृतिक झाँकी र नृत्य देखाउन पाइएकामा खुसी व्यक्त गरे ।


महानगर उपप्रमुख सुनिता डङ्गोलले सार्वजनिक सम्पत्तिको प्रयोग सार्वजनिक हितका लागि मात्रै हुनुपर्छ भन्ने अवधारणाका साथ महानगरपालिका अघि बढेको बताइन् ।

महानगरमा न्यायिक सुशासन कायम गर्न हरेक सेवाग्रहीलाई सहज, सरल पहुँचका लागि निःशुल्क कानुनी सेवा सुरुवात गरिएको उनले जानकारी दिइन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update