Public Pana
क्यूआर कोड मार्फत हुने भुक्तानी एक महिनामै ४ अर्बले घट्यो

नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी घटेको देखिएको छ नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० कार्तिकको मासिक भुक्तानी प्रणाली सूचकमा क्यूआर कोड मार्फत ३२ अर्ब १ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको छ ।

असोजमा क्यूआर कोड मार्फत ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको थियो। असोजको तुलनामा कार्तिकमा क्यूआर कोड मार्फत हुने भुक्तानी ४ अर्ब १९ करोड ८० लाख रुपैयाँ अर्थात ११.५८ प्रतिशतले घटेको छ ।

क्यूआर कोड मार्फत हुने भुक्तानीसँग कारोबार संख्या पनि उल्लेखनिय रुपमा घटेको छ। असोजमा १ करोड १८ लाख ८३ हजार १०० पटक कारोबार भएको कार्तिकमा ८७ लाख २९ हजार ९३९ पटक क्यूआर कोड मार्फत कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले नै डिजिटल भुक्तानीलाई प्रवर्धन गरेसँगै क्यूआर कोड मार्फत हुने भुक्तानी बढेको थियो। तर धेरै पछि अघिल्लो महिनाको तुलनामा कार्तिकमा कारोबार रकम घटेको देखिन्छ।

हाल तरकारी पसल, चिया पसल, सपिङ महल लगायत कारोबार हुने अधिकतम स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सकिन्छ।

बैंक तथा वित्तीय संस्थाहरुले पनि ती स्थानमा क्यूआर कोड मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएका छन्।

साथै नगद बोकेर हिड्नु भन्दा पनि मोबाइलबाटै सहज रुपमा भुक्तानी गर्न सकिने भएकाले पनि क्यूआर कोड मार्फत उल्लेखनिय रुपमा भुक्तानी भइरहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update