Public Pana
एनसेलबाट आजियाटा बाहिरिएसँगै शेयरको चर्चा

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको प्रमुख वैदेशिक लगानीकर्ता आजियाटा ग्रुप बर्हादले आफ्नो सम्पूर्ण सेयर बेचेर बाहिरसँग यस विषयमा सार्वजनिक वृत्तमा चर्चा र चासो व्यक्त भईरहेका छन् ।


सन् २०१६ मा मलेशियन टेलिकम ग्रुप आजियाटाले स्वीडेनको कम्पनी टेलिया सोनेराको ८० प्रतिशत शेयर १.३६५ अर्ब अमेरिकी डलरमा किनेर एनसेलमार्फत नेपाली दूरसञ्चार बजारमा भित्रिएको थियो।

अहिले सोही सेयर ५ करोड अमेरिकी डलरमा नेपाली मूलका सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्दै एनसेलबाट आजियाटा बाहिरिएको छ।

अघिल्लो खरिद मूल्यबाट ९६.३४ प्रतिशत घट्दै एनसेल आजियाटाले आफ्नो शेयर स्पेक्ट्रलाइटलाई बिक्री गरेको देखिन्छ।

सरकारले एनसेलको शेयर खरिद बिक्री बारेमा अध्ययन तथा छानबिन समिति बनाएको छ भने प्रतिनिधि सभाका विभिन्न समितिले पनि यस विषयमा चासो राख्दै छलफल गरेका छन्। शेयर खरिद बिक्रीको सम्बन्धमा सर्वोच्च अदालमा मुद्दा पनि दायर भएका छन्।

तर यसरी एनसेलको शेयर किनबेच र हस्तान्तरण भएको यो पहिलो पटक भने होईन्। यसअघि पनि एनसेलको शेयर विभिन्न समयमा खरिद बिक्री हुँदै आएको देखिन्छ।

टेक्नोलोजीखबरले पाएको कम्पनी रजिष्टारको कार्यालयको अभिलेखअनुसार विभिन्न समयमा फरक फरक कम्पनीहरुले एनसेलको शेयर खरिदबिक्री गरेको देखिन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि स्पाईस नेपाल (तत्कालिन मेरो मोबाइल ब्राण्ड) लाई २०५७ कार्तिक १८ गते आशय पत्र तथा स्वीकृत पत्र प्रदान गरेको थियो।

प्राधिकरणबाट सेवा स्वीकृतीका लागि अनुमति प्राप्त गरेको करिब एक वर्ष पछि स्पाईस नेपालले उद्योग विभागबाट २०५८ असार ४ गते संयुक्त लगानी सम्झौता स्वीकृत गरेर सोही मितिमा उद्योग स्थापना स्वीकृत प्राप्त गरेको तथ्यांकमा देखिन्छ।

उद्योग स्थापना गर्दा कम्पनीको अधिकतम पूँजी ५० करोड रुपैयाँ थियो भने जारी पूँजी ४५ करोड रुपैयाँ अर्थात ४५ लाख थान शेयर रहेको थियो।
कम्पनीले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी एक करोड रुपैयाँ थियो।

तत्कालिन समयमा दुई भारतीय र एक नेपाली समूहको संयुक्त लगानीमा स्पाईस नेपाल स्थापना गरिएको थियो। एक लाख थान शेयरको मूल्य १ करोड रुपैयाँ तोकिएको थियो। जसमा मोदिकर्प लिमिटेड भारत ५५ हजार थान शेयर ५५ लाख रुपैयाँ, स्पाईस सेल लिमिटेड भारत ५ हजार थान शेयर ५ लाख रुपैयाँ र खेतान ग्रुप प्रालिको ४० हजार थान शेयर ४० लाख रुपैयाँ रहेको थियो।

कम्पनी रजिष्टारको कार्यालयको लागत अभिलेखअनुसार २०६१ जेठ २८ गते प्रति शेयर ५ रुपैयाँ (९५ रुपैयाँ असुल हुन बाँकी दरले असुल भई कायम हुन आएको शेयर यस्तो छ।

जसमा मोदिकर्प लिमिटेड भारत ५५ हजार थान शेयर २ लाख ७५ हजार रुपैयाँ, स्पाईस सेल लिमिटेड भारत ५ हजार थान शेयर २५ हजार रुपैयाँ र खेतान ग्रुप प्रालिको ४० हजार थान २ लाख रुपैयाँ रहेको छ।

कम्पनी रजिष्टारको कार्यालयको अभिलेख अनुसार २०६१ मंसिर ४ गते मोदिकर्प लिमिटेड भारको ९५ हजार थान सेयर खरिद गरेर राज ग्रुप स्पाईस नेपालमा प्रवेश गरेको देखिन्छ। ५ हजार थान शेयर भने स्पाईस सेलसँगै रहेको देखिन्छ।

२०६१ मंसिर ४ गते शेयर खरिद बिक्री पश्चात (प्रति शेयर रु ५ का दरले असुल भएको) कायम हुन आएको शेयर लगत अभिलेख अनुसार राज ग्रुप कम्पनी प्रालि नेपालको ५५ हजार थान शेयर २ लाख ७५ हजार रुपैयाँ, स्पाईस सेल लिमिटेड भारतको ५ हजार थान शेयर २५ हजार रुपैयाँ र राज ग्रुप कम्पनी प्रालि नेपालको ४० हजार थान शेयर २ लाख रुपैयाँ रहेको थियो।


कम्पनी रजिष्टारको कार्यालयको अभिलेख अनुसार २०६१ मंसिर ४ गते ५७ हजार थान शेयर सहित डेल्टा ट्रेड कम्पनी प्रालि स्पाइस नेपालमा प्रवेश गरेको देखिन्छ। उक्त अभिलेख अनुसार राज ग्रुपको शेयर ३८ हजार थान मात्र कायम भएको छ।

२०६१ मंसिर ४ गते उद्योग विभागका सैद्धान्तिक सहमति प्राप्त गरी शेयर खरिद बिक्री पश्चात (प्रति शेयर रु ५ का दरले असुल भएको कायम हुन आएको शेयर लगत अभिलेख अनुसार राज ग्रुप कम्पनी प्रालि नेपाल ३८ हजार थान १ लाख ९० हजार रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस १७ हजार थान ५ का दरले रुप ८५ हजार रुपैयाँ,स्पाईस सेल लिमिटेड भारत ५ हजार थान ५ का दरले २५ हजार रुपैयाँ र डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस ४० हजार थान ५ का दरले २ लाख रुपैयाँ रहेको थियो।

यसपछि २०६१ चैत १२ गते उद्योग विभागको सैद्धान्तिक सहमति प्राप्त गरी शेयर खरिद बिक्री पश्चात (प्रति शेयर रु १० का दरले असूल भएको कायम हुन आएको शेयर लगत अभिलेखअनुसार राज ग्रुप कम्पनी प्रालि नेपाल ३८ हजार थान शेयर ३ लाख ८० हजार रुपैयाँ, राज ग्रुप कम्पनी प्रालि नेपाल ३ लाख ६० हजार थान शेयर ३६ लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस १७ हजार शेयर १ लाख ७० हजार रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस ४० हजार थान शेयर ४ लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस ५ लाख ४० हजार थान शेयर ५४ लाख रुपैयाँ, स्पाईस सेल लिमिटेड भारत ५ हजार थान शेयर २५ हजार रुपैयाँ रहेको थियो।


२०७७ साउन १९ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत हुँदा कम्पनीले ७ जनालाई १०० रुपैयाँ दरको ११ थान शेयर थप गरेको १० लाख ११ थान शेयर र १० करोड १ हजार १०० रुपैयाँ चुक्ता रकम कायम गरिएको थियो। यी ११ थान शेयर २०७५ चैत १ गते शेयरधनीको नाममा दर्ता भएको थियो।

एनसेल आजियाटाको शेयर खरिद गर्ने ७ नेपाली नगरिकहरुमा काठमाडौं महानरपालिका वडा नम्बर २७ बस्ने लेना केशरी कंसाकारको नाममा दुई थान शेयर, ललितपुर महानरपालिका वडा नम्बर १ का कविन मूलको नाममा एक थान शेयर, काठमाडौं महानरपालिका वडा नम्बर २९ का समिर राज गौतमको नाममा एक थान शेयर, ललितपुर महानरपालिका वडा नम्बर २ का कन्चन सिंह कार्कीको नाममा दुई थान शेयर, काठमाडौं महानरपालिका वडा नम्बर १० का सम्पन्न राज भट्टको नाममा एक थान शेयर, काठमाडौं महानरपालिका वडा नम्बर ९ का ज्योति दाहालको नाममा दुई थान शेयर र ललितपुर महानरपालिका वडा नंम्बर ७ का उमा महर्जनको नाममा दुई थान शेयर रहेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update