Public Pana
मुसिकोट नगरपालिकामा पुन: मतगणना गर्नुनपर्ने उच्च अदालतको फैसला

 उच्च अदालत सुर्खेतले मुसिकोट नगरपालिकामा पुन:  मतगणना गर्नु नपर्ने फैसला गरेको छ। मुसिकोट नगरपालिकाका मेयरका प्रत्याशी माओवादी केन्द्रका वसन्त कुमार शर्मासहित दुईवटा वडा अध्यक्षका प्रत्याशीले पुन: मतगणनाको माग सहित दायर गरेकाे मुद्दामा यस्तो फैसला गरेको हो ।

पुस १३ गते मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेल र न्यायाधीश लेखनाथ ढकालको संयुक्त इजलासले शर्मा लगायत वडा नं १ का वडा अध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नं १४ का वडा अध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले पुन: मतगणनाको मागसहित दायर गरेकाे मुद्दामा दाबी नपुगेको भन्दै पुनः मतगणना नगर्नुपर्ने फैसला सुनाएको हो ।

तीनै जना प्रत्याशीहरूले गत जेठ १२ गते पुन: मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा १३ मतान्तरले नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका थिए ।  केसीले ६९१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शर्माले ६९०१ मत प्राप्त गरेका छन् । 

वडा नं १ मा कांग्रेसका ज्ञानुचन्द्र चन्द र वडा नं १४ मा कांग्रेसकै गोवर्धन वली विजयी भएका थिए ।

 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update