Public Pana
बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिँदै

कास्की - पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन तनहुँका एक बिरामी युवकलाई खोज्न सेती नदीको ड्याम खोलिने भएको छ । उपचारका लागि मणिपाल अस्पतालमा भर्ना  भएका  १९ वर्षीय सङ्गम मिश्र गत सोमबार साँझ साढे ६ बजेदेखि सम्पर्क विहीन  भएका थिए ।

मणिपालको आकस्मिक कक्षमा उपचाररत सङ्गम आफ्ना बुवा हरिप्रसाद औषधी लिन गएका बेला अस्पतालबाट निस्केका थिए । ज्वरो आएपछि उपचारका लागि भर्ना गरिएको थियो । मणिपाल अस्पतालबाट नदीपुरतर्फ आउने सेती नदीको झोलुङ्गे पुलको बिचमा सङ्गमले लगाएका कपडा र परिचयपत्र भेटिएका छन् । उनले नदीमा हाम फालेको हुन सक्ने अनुमान गर्दै खोजीका लागि सेती नदीको ड्याम खोल्न लागिएको हो ।

ड्याम खोल्नुपर्ने कारणसहित कास्की प्रहरीले सर्वसाधारणका लागि सूचना जारी गरेको छ । प्रहरीले बिहीबार मध्याह्न १२ देखि ४ बजेसम्म ड्यामभन्दा तलका सबै नागरिकलाई सतर्क रहन भनेको छ ।सङ्गमको परिवारले समेत ड्याम खोली खोजतलास गरिदिन आग्रह गरेको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले ड्याम खोलिने समयमा सतर्क रहन आग्रह  गरे । “नदीमा पानीको वहव बढ्न सक्ने हुँदा उक्त समयमा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरू चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन अनुरोध छ,” उनले भने ।  

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update