Public Pana
भिजिट भिसामा विदेश पठाउँदा विमानस्थलका कर्मचारीलाई ५० हजार ‘घुस’

 

 

 

 

काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा खाडी मुलुकमा पठाउने गिरोहसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतहरूको ‘मिलेमतो’ हुने गरेको भेटिएको छ । ‘घुस’ लिएर १२ कक्षाको नक्कली सर्टिफिकेटका आधारमा विदेश पठाएको आरोपमा प्रहरीले विमानस्थलमा कार्यरत ४ जना अधिकृतहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

 

 

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्का र वायुसेवा निगममा कार्यरत ३ जना अधिकृत छन् । वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

६ वटा ट्राभल्सका सञ्चालकहरूलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अहिलेसम्म पक्राउ पर्नेहरूको सङ्ख्या ३२ पुगेको छ । विमानस्थल अध्यागमन कार्यालय र वायुसेवा निगमका कर्मचारीले ‘गिरोह’ सँग ४० देखी ५० हजार रुपैयाँ सम्म घुस लिएर ‘सेटिङ’मा सर्वसाधारणलाई विदेश पठाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

पहिलोपटक जान लागेकाहरूसँग कर्मचारीले ५० हजार र पुराना यात्रुसँग ४० हजार ‘घुस’ लिने गरेको भेटिएको अनुसन्धानमा संलग्न डिएसपी गोविन्द पन्थीले जानकारी दिए । बुधवार आयोजित पत्रकार सम्मेलनमा पन्थीले भने–‘अध्यागमनबाट पार गराउन कर्मचारीले नयाँलाई ५० हजार र पुरानासँग ४० हजार लिने गरेको भेटिएको छ ।’

अनट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरीले नेपाल एयरलाइन्सका वरिष्ठ सहायक अरविन्द यादवलाई पटक पटक गरेर १२ लाख दिएको अनुसन्धानबाट थाहा भएको छ ।

एसकेआई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र रोलेक्स ट्राभल्सका राम प्रसाद भण्डारीले कर्मचारीहरूलाई रकम दिएको अनुसन्धानबाट थाहा भएको छ । रोलेक्स ट्राभल्समा कार्यरत सञ्जय तामाङ र राजकिशोर शाहले पटक पटक नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेललाई १८ लाख दिएको बयान दिएका छन् 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update