Public Pana
लकडाउनको डरले राप्रपाले फेर्यो  महेन्द्रनगरको आमसभास्थल

राष्ट्रिय प्रजातन्त्र पार्टीले कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकामा आयोजना गर्ने आमसभाको कार्यक्रमस्थल फेरेको छ ।

विवादपछि भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको (महेन्द्र) स्मारक चोकमा तोकिएको आमसभाको कार्यक्रमस्थल फेरिएको हो ।

राप्रपा भीमदत्त नगरका अध्यक्ष करन पालका अनुसार भोली बिहीबार आमसभा स्मारक चोक नजिकै सब्जीमण्डी रोडमा गर्ने तयारी छ।

‘प्रशासनले दंगा हुनसक्ने भन्दै स्मारक चोकमा आमसभा राख्न दिएन,’ उनी भन्छन्, ‘निषेधाज्ञा लगाउने कुरा उठ्यो। त्यसैले नजिकै सब्जीमण्डी रोडमा आमसभा गर्दैछौँ।’

आमसभाको सम्पूर्ण तयारी पूरा भएको उनले बताए। कार्यक्रमस्थलमा राप्रपाले अहिले स्टेज निर्माणको काम गरिरहेको छ।


आमसभासँगै महेन्द्रनगरको स्मारक चोकमा तत्कालीन राजा महेन्द्रको सालिक अनावरण गर्ने राप्रपाले प्रचारप्रसार गरिरहेको छ।

राप्रपाले महेन्द्रको सालिक निर्माण गरेर महेन्द्रनगर पुर्याइसकेको छ। गणतन्त्रवादी ८ दलले राप्रपाको यो कदमको विरोध गरिरहेका छन्।

भीमदत्तनगरमा महेन्द्र सालिक स्थापना गर्ने राप्रपाको निर्णयले माहोल तंरगित छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ८ दल र तिनका भातृ संगठनले विज्ञप्ति नै जारी गरेर विरोध जनाएका छन्।

राजा महेन्द्रको सालिक स्थापना गर्ने कार्य ‘संविधानको बर्खिलाप र व्यवस्थाविरुद्धको गतिविधिका रुपमा रहेको’ भन्दै रोक्न स्थानीय प्रशासनलाई उनीहरुले ध्यानाकर्षण नै गराएका थिए।

राप्रपा कञ्चनपुरले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका शीर्ष नेतालाई महेन्द्रनगरमा उतारेर महेन्द्रको सालिक अनावरण गर्न खोजिरहेको छ।

आमसभालाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको पहिचान तत्कालीन राजा महेन्द्रसँग जोडिएकोले इतिहासको जर्गेना गर्ने उद्देश्यले सालिक राख्न खोजिएको राप्रपाको तर्क छ।

वि.सं. २०६२÷०६३ को जनआन्दोलनपछि गणतन्त्रवादी दलहरूले स्मारक चोकमा रहेको राजा महेन्द्रको सालिक हटाएका थिए। त्यसअघि पनि सालिक हटाउने र राख्ने क्रम चलेकै थियो।

राजतन्त्र ढलेपछि त्यस बेलाको सर्वदलीय बैठकले ‘महेन्द्र स्मारक चोक’को नाम फेरेर संविधान चोक नामकरण गरेको थियो। उक्त चोकमा गणतन्त्रको स्तम्भ राख्ने निर्णय भएको थियो। सोहीअनुसार गणतन्त्रकोे स्तम्भ राख्नु पर्ने गणतन्त्रवादी दलहरुको अडान छ।

महेन्द्रको सालिक अनावरणमा गणतन्त्र र राजावादी शक्तिबीच सहमति नजुटेपछि सुरक्षा चुनौती थपिएको छ।

आमसभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

‘कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ,’ प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, ‘स्मारक चोक विवादित भएपछि कार्यक्रम अन्यत्र गर्न भनिएको छ।’

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update