नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहका नेताहरू नेतृत्वमा विवाद देखिएको भन्दै मिलेर अघि बढ्न सुझाएका छन् ।
आज बुधबार काठमाडौंकाो बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा बोलेका नेताहरूले डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच दरार आएको समाचार सुनेको भन्दै मिलेर अघि बढ्न दबाब दिएका हुन्।
बैठकमा बोलेका नेताहरूले दुवैजनाको नाम लिएर यदि मिलेर अघि नबढेमा संस्थापनले अझै पेल्न सक्नेतर्फ सचेत गराएका थिए।
केही समययता शेखर र गगनबीच मनमुटावको समाचार सार्वजनिक भएका थिए। त्यहीकारण गगन इत्तर समूहको बैठकमै आउन आनाकानी गरेका थिए।
तर डा. कोइरालाले उनीसँग हिजो मंगलबार तीन घण्टा लामो वार्ता गरेपछि आज बुधबारको बैठकमा अधिकांश नेताहरू सहभागी छन्। गगन पनि ढिलोगरी उक्त बैठकमा सहभागी भए।
बैठकका क्रममा नेताहरूले यदि मिलेर अघि नबढ्ने हो भने समस्या हुने बताएपछि डा. कोइरालाले आफूहरूबीच बाहिर आए जस्तो कुनै समस्या नभएको स्पष्टीकरण दिए।
उनले गगनसँग अहिले पनि आफू सहकार्यमा रहेको बताउँदै समय समयमा छलफल पनि गरिरहेको जवाफ दिएका थिए।
गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए।