Public Pana
संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाइ भएकोले सभामुख घिमिरेले पाण्डेयलाई तोके कार्यबाहक

सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को कार्यबाहक महासचिव तोकेका छन् ।


राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई कार्यबाहक महासचिव तोकिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 


‘प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यबाहक तोक्नुभएको हो,’ सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 


यसअघिका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरेले पाण्डेयलाई नै महासचिव नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । 


राष्ट्रपति पौडेलले नियुक्तिमा ‘ढिलाइ’ गरेपछि सभामुख घिमिरेले पाण्डेयलाई संघीय संसद्को कार्यबाहक महासचिव तोकेका हुन्। 


सभामुख घिमिरेले मंसिर २७ गतेबाट लागु हुने गरी पाण्डेयलाई कार्यबाहक महासचिव तोकेका हुन्। 


सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहेका थिए। तर राष्ट्रपतिसँग सम्पर्क हुन नसकेको उनको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update