Public Pana
सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आज सुनुवाइ हुँदै

एमाले निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरुद्धको ज्यान मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा आज तेस्रो दिन निरन्तर सुनुवाइ हुन लागेको हो । गत सोमबारदेखि न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

हिजो सरकारी वकिलको बहस सकिएकाले आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस गर्नेछन् ।

२०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका असई विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।


सो घटनामा कोइरीसहित २८ जनाविरुद्ध ज्यान मुद्दा दायर भएको थियो । त्यसमा जिल्ला अदालत महोत्तरीले ०७६ साल असोज २ गते महतोलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

त्यसपछि असई विकका आफन्त प्रेमबहादुर बिक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए । उच्च अदालत जनकपुरले ०७७ मंसिर १९ गते कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसपछि उनी फरार छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update