Public Pana
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा क्रिचियन धर्म गुरु सीवी गहतराज पक्राउ
फाइल तस्बिर

नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबाबु गहतराज (सीबी) आज मंगलबार पक्राउ परेका छन् । 


क्रिश्चियन धर्मगुरु समेत रहेका उनले प्रयोग गर्दै आएको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। 


काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी कुमोद ढुंगेलले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा उनलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको जानकारी दिए ।


उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको थियो।


ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको थियो। 
त्यसपछि उनी विवादमा तानिएका थिए।


क्रिश्चियन धर्मप्रचारक उनले ‘महानअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो। 


पत्रिका दर्तापछि उनी सूचीकरणका लागि सूचना विभागमा पुगेका थिए। जहाँ उनको प्रमाणपत्र नक्कली भएको उजुरीपछि छानबिन थालेको विभागले त्रिविबाट कागजपत्र झिकाएको थियो। 

समाजशास्त्रमा स्नातक गरेको भन्दै उनले पत्रिका दर्ताका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो। 


त्रिविले उनको रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) सँग मेल खाने अभिलेख नभएको जवाफ सूचना विभागलाई दिएको थियो। गत भदौ २७ गते त्रिविले पठाएको पत्रमा ‘चरीबहादुर गहतराज, रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाई हेर्दा मेल नखाएको’, जनाएको थियो। 


चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही थालेको थियो।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update