
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने भएको छ ।
७० प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा १९ प्रतिशत सेयर रुपान्तरण गर्ने भएको हो ।
गत वर्षको फागुनमा बसेको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक शेयर रुपान्तरण गर्ने प्रस्ताव पारित भएपछि कम्पनीले सेयर स्वामित्व परिवर्तनको गृहकार्य सुरु गरेको थियो ।
कम्पनीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै संस्थापक शेयर ७० प्रतिशतबाट ५१ प्रतिशतमा कायम रहने र सर्वसाधारण शेयर ३० प्रतिशतबाट बढेर ४९ प्रतिशत कायम हुने उल्लेख गरेको छ ।
शेयर स्वामित्व परिवर्तन हुने भएपछि कम्पनीले संस्थापक सेयरधनीलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।
सूचनामा संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने लगानीकर्ताले ७ दिनभित्र निवेदन दिनुपर्ने उल्लेख छ ।
परिवर्तन गर्न नचाहने शेयरधनीले नयाँ बानेश्वरमा रहेको कम्पनीको प्रधान कार्यलय वा सानिमा क्यापिटल नक्सालमा निवेदन दिनुपर्नेछ ।
निवेदन नदिएका संस्थापक शेयरधनीको हकमा भने कम्पनीले सर्वसाधारण शेयरमा स्वामित्व परिवर्तन गर्नेछ ।