Public Pana
ईपीएस कार्यालयमा सोमबार तनाव

ललितपुरको बालकुमारी ग्वार्कोस्थित ईपीएस कार्यालयमा सोमबार दिनभर तनाव भएको छ।

ईपीएस शाखा कार्यालयले मेनुफेक्चर (औद्योगिक) तर्फ निकालेको आवेदनमा हालसालै सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।

प्रदर्शनमा करिब साढे २ सय विद्यार्थीको सहभागी थिए।

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहका अनुसार स्थिति नियन्त्रणमा लिनका लागि ६ राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो।

बिहान साढे १० बजेबाटनै सो समूह भेला भई त्यहाँ नाराबाजी सुरु गरेका थिए। 

नाराबाजीपछि केहीबेर झडपको अवस्था सुरु हुन थालेको थियो। त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको शाहले बताए।

ईपीएस प्रणाली अन्तर्गत एक विद्यार्थीले वर्षमा एक पटकमात्रै परीक्षा दिन पाइन्छ। 

यसअघि सीप बिल्डिङका परीक्षा दिएकामध्ये ४ हजार उत्तीर्ण भएका थिए भने २८ हजार अनुत्तीर्ण भएका थि

तर ईपीएस शाखाले भाषा परीक्षा डिसेम्बरमै खोलेपछि ती अनुत्तीर्ण भएका २८ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएपछि उनीहरू चार दिनदेखि ईपीएस कार्यालयमा धर्ना दिइरहेका थिए। 

कार्यालयमा धर्ना दिँदा सुुनुवाइ नभएको भन्दै सोमबार उनीहरू सडक अवरुद्ध गर्दै ग्वार्को चोकमा पुगेका थिए। सडक नै अवरुद्ध भएपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाएको थियो। 

उनीहरूले सीप बिल्डिङमा फेल भएकाले फर्म भर्न पाउनुपर्ने, बुँदा नम्बर ५ को च खारेज हुनुपर्ने, सन् २०२४ को फर्म खुला गर्नुपर्ने लगायतका नारा लगाएका थिए। 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update