Public Pana
रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको छ :  प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ ।


आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताउनुभयो ।

उहाँले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘रुसी सेनामा २ सय जना नेपाली भर्ना भएको औपचारिक जानकारी आएको छ । उनीहरूको अध्ययन, खोजी भइरहेको छ । कोही पढ्नका लागि, कोही भिजिट भिसामा गएका नेपाली रुसी सेनामा भर्ती भएका रहेछन् । रुसी सेनामा भर्ती भएका नेपाली केही युक्रेनको कब्जामा रहेका र केही युक्रेनी सेनाको कब्जामा रहेका जानकारी आएको छ ।’

प्रधानमन्त्रीले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको दाबी पनि गर्नुभयो । उहाँले गठबन्धनका बैठकहरू हेर्दा प्रयासले मात्रै केही नहुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

प्रचण्डले गठबन्धन पूरै अवधि जाने बताउँदै अब १ वर्षको समीक्षा गर्नै र अर्को १ वर्षका निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको उल्लेख गर्नुभयो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update