Public Pana
अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित

एसीसी यू–१९ क्रिकेट प्रतियोगिताअन्तर्गत आज आइतबार भएको खेलमा नेपालले हार व्यहोरेको छ। 


जम्सिद जड्रानको शतकमा एसीसी अफगानिस्तानले जितका लागि दिएको २ सय ६२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ७३ रनले पराजित भएको हो।


लगातार दोस्रो हार व्यहोरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ। नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्रै जीवित छ। 


नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ। 

नेपालमाथिको जितले अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना भने जिवितै छ। अफगानिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो। अफगानिस्तानले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग भिड्नेछ। 


अफगानिस्तानले दिएको २ सय ६२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ८८ रन बनाउँदा अलआउट भयो। 

ओपनर अर्जुन कुमालले ९१ रनको सर्वाधिक योगदान दिएपनि नेपालको हार टार्न सकेनन्। १०८ बलको सामना गरेका अर्जुनले १३ चौका प्रहार गर्दा फरिदोनको बलमा नुमान शाहको हातबाट क्याच आउट भए। 

आठौं विकेटका लागि अर्जुन कुमाल र सुवास भण्डारीले ४० बलमा ५० रनको साझेदारी गर्दै नेपालको इनिङस उकासे पनि पर्याप्त भएन। 

कप्तान देव खनाल २४ रन बनाउँदा क्याच आउट भए। २७ बलमा १ चौका हानेका देव खलिल अहमदको बलमा नुमान शाहको हातबाट क्याच आउट भए।

गुल्सन झा १७ रन थप्दै पवेलियन फर्के। २० बलमा २ छक्का हानेका गुल्सन पनि लामो सट खेल्ने धुनमा हुँदा क्याच आउट हुन पुगे। 

दीपक बोहोरा १५ रन थप्दै आउट भए। १३ बलमा ३ चौका हानेका दिपक फरिदोनको बलमा नुमान शाहको हातबाट नै क्याच आउट भए।

दिपेश कँडेलले ११, सुवास भण्डारीले ८ तथा उत्तम थापा मगरले ४ रन थपे। आकाश त्रिपाठी र हेमन्त धामी शुन्य रनमा नै आउट भए। 

नेपाललाई कम स्कोरमा रोक्न अफगानिस्तानका नसिर खान एक्लैले तिन विकेट लिए। फरिदोन र मोहम्मद युनुसले समान २ विकेट लिए। खलिल अहमदले १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९. ओभरमा ९ विकेटको क्षतिमा २ सय ६१ रनको योगफल तयार पारेको थियो। 

नेपालविरुद्ध जम्सीद जड्रानले शतक प्रहार गरे। १ सय ५२ बलमा ८ चौका हानेका जम्सिद १ सय ६ रन बनाउँदा रिटायर्ट हर्ट भए। 

पाँचौं विकेटका लागि नुमान र जम्सिदले ८२ बलमा ९७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई विशाल योगफल तर्फ लगेका थिए। 

सुवासले ४२ औँ ओभरको चौथो बलमा नुमानलाई ६० रनमा क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण सफलता दिलाए। ४१ बलमा ५ चौका र ३ छक्का हानेका नुमान सुवासको बलमा दिपेश कडेलको हातबाट क्याच आउट भए। 

त्यसअघि चौथो विकेटका लागि जम्सीद जडान र रहिमुल्लाह जसरमतीले १ सय २९ बलमा ८१ रनको साझेदारी गर्दै अफगानिस्तानको इनिङस् उकासेका थिए। 

दिपेशले २८ औँ ओभरको अन्तिा बलमा रहिमुल्लाह जुरमतीलाई ३५ रनमा क्याच आउट गराउँदै नेपालका लागि महत्वपुर्ण विकेट लिएका थिए।

६५ बलमा २ चौका हानेका रहिमुल्लाह दिपेशको बलमा सुवास भण्डारीको हातबाट क्याच आउट भए। 

हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।

हेमन्तले सातौ ओभरको दोस्रो बलमा ओपनर खालिद तनिवाललाई १० रनमा पवेलियनको बाटो देखाए। ११ बलमा १० रन बनाएका खालिद हेमन्तको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए।

हेमन्तले सोही ओभरको तेस्रो बलमा अक्रम मोहम्मजाइलाई बोल्ड आउट गरे। अक्रम गोल्डेन डकआउट भए। 

त्यसअघि अलराउण्डर गुल्सन झाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर वाफीउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए। 

खालिल अहमद १३ रन बनाउँदा आकाश चन्दको बलमा बोल्ड आउट भए। मोहम्मद युनुस २ रन बनाउादा सुवास भण्डारीको बलमा दिपक बोहोराको हातबाट क्याच आउट भए। कप्तान नसिर खान ४ रनमा रनआउट भए। फरिदुन शुन्य रनमा आउट भए। 

नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २ विकेट लिए। दिपेश कडेल र आकाश चन्दको नाममा समान १ विकेट रह्यो।  

दिपेशले आफ्नो स्पेलमा ३४ रन खर्चेर १ विकेट लिए। सुवासले १० ओभरमा ४९ रन दिएर २ विकेट झारे। आकाश चन्दले आफ्नो स्पेलमा १ मेडन राख्दै ६६ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update