Public Pana
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी 

सामाजिक सञ्जालबाट गरिने विज्ञापन र अन्य माध्यममार्फत मासिक ९ हजारभन्दा बढी युवा ठगिने गरेका छन् ।


यस्ता युवाबाट म्यानपावरका एजेन्ट, म्यानपावर कम्पनी र रोजगारी तस्करीले मासिक १५ करोड रुपैयाँभन्दा बढी आर्थिक ठगी गरिरहेको विभागको अध्ययनमा उल्लेख छ ।


रोजगारीको खोजीमा रहेका युवासँग म्यानपावरका एजेन्ट, रोजगारी तस्करी र म्यानपावर कम्पनीले प्रतिव्यक्ति ७० हजारदेखि १ लाखसम्म प्रोसेसिङका नाममा पैसा लिने गरेको उजुरी आएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।


भ्रमपूर्ण विज्ञापन गरी तस्करले देशअनुसार कामदारसँग प्रक्रियाका नाममा अग्रिम पैसा लिएर भाग्ने गरेको उनले बताए। उप्रेतीका अनुसार युरोपेली देश, अमेरिका र क्यानडाजस्ता देशमा वर्किङ भिसामा पठाइदिने भन्दै पछिल्लो समय सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने गिरोह सक्रिय छ ।


‘सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापन सामान्यदेखि ठूलो रकम ठगी भइरहेको छ। म्यानपावर कम्पनीभन्दा पनि सामाजिक सञ्जालमा विज्ञापन गरी ठगी गर्ने व्यक्तिगत गिरोह ठूलो छ’, उनले भने, ‘सामाजिक सञ्जालको विज्ञापनका आधारमा रोजगारीका नाममा ठगिएका मासिक पाँच सयभन्दा बढी पीडित समस्या लिएर आउने गरेका छन् ।’


विभागका अनुसार फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारसम्बन्धी विभिन्न विज्ञापनहरू गर्नेहरूले ठगी गरेको उजुरी परेको छ ।

सामाजिक सञ्जालमा हुने विज्ञापनको भ्रममा परी नठगिन रोजगारीको खोजीमा रहेका युवालाई विभागले आग्रह गर्दै आएको छ। उप्रेतीले सामाजिक सञ्जालमा आएका युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारी पाइने भन्नेजस्ता भ्रामक विज्ञापनको विश्वास नगर्न आग्रह गरे।


वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) हरूले प्रचलित कानुनबमोजिम नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा पठाउन सक्ने व्यवस्था वैदेशिक रोजगार ऐनमा छ।


विभागले आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारसम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्न पाइँदैन। तर पछिल्लो समयमा अध्ययनका लागि विद्यार्थी बाहिर पठाउने कन्सलटेन्सी, ट्राभल एजेन्सी, व्यक्तिगत दलाल, म्यानपावरका एजेन्ट र म्यानपावरले समेत सामाजिक सञ्जालमा विज्ञापन गरी युवालाई ठग्दै आएका छन्।


चालु आर्थिक वर्षको साढे ४ महिनामा वैदेशिक रोजगारीमा खोजीमा रहेका करिब २ हजार युवा ठगिएको विभागको तथ्यांक छ। यस अवधिमा ५ सय ४३ वटा उजुरी परेको उप्रेतीले जानकारी दिए।


गत आर्थिक वर्षमा २ हजार ३ सय रोजगारीमा ठगिएको उजुरी परेको थियो।

वैदेशिक रोजगारीका नाममा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी ठगि भएको बिगो दाबीसहितको उजुरी पर्ने गरेको छ। विभागमा व्यक्तिगत र संस्था रूमा ठगिएका पीडितले उजुरी गर्ने गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update