
आइतबार शेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ ।
कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।
११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।
पुनः १२ः ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।
योसँगै आज आइतबारका लागि शेयर कारोबार बन्द भएको छ ।
आइतबार शेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ ।
नेप्से १९६३ अंकमा कायम भएको छ ।
आइतबार ९ मिनेट कारोबार हुँदा जम्मा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।
गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा शेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो ।
लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ ।