Public Pana
हमास नियन्त्रणबाट विपिन जोशी छुटाउन पहलका लागि परराष्ट्रमन्त्री साउद कतार लागे

परराष्ट्रमन्त्री एनपी साउद आज कतार प्रस्थान गरेका छन् ।

दोहा २१औँ सम्मेलनमा सहभागी हुन उनी आज शनिबार कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । 

परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात् आइतबार कतारमा सुरु हुने दोहा २१औँ फोरममा सहभागी हुने क्रममा उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ कुरा उठाउने उनका स्वकीय सचिव दीपक जोशीले बताए । 

‘मन्त्रीज्यू, दोहा सम्मेलनमा सहभागी हुन शनिबार बिहान कतार जानु भएको होु’ उनले भने, ‘कतार रहँदा हुने उच्चस्तरीय भेटमा उहाँले इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि आग्रह गर्ने विषय अत्यन्तै प्राथमिकतामा राख्नुभएको छ।’

कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका छ। 

मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। 

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइबारे कुरा गरेका थिए। 

परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।  

परराष्ट्रमन्त्री साउदले शुक्रबार दिउँसो उनीसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहा गराउने प्रयासकै क्रममा टेलिफोन संवाद गरेको उनको सचिवालयले जनाएको छ। 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update