Public Pana
सुकुम्बासी र अव्यवस्थितहरुले जग्गाधनी प्रमाणपत्र पाउँने

उदयपुरको कटारी  नगरपालिका–१ कालीखोला गाउँबाट जग्गा नापी सुरु भएको छ ।

राष्ट्रिय भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङका अनुसार पहिलो चरणमा ऐलानी जग्गाको नापी सुरु भएको हो ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित ढङ्गले बसोबास गरेकाहरूलाई  नापजाँच गरेर जग्गाधनी प्रमाणपत्र प्रदान हुने अध्यक्ष तामाङले जानकारी दिए ।

यसपटक कटारी नगरभित्रका सबै वडाको जग्गा नापी गरिने नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । नापी सुरु भएपछि भूमिहीनहरूमा पुनः उत्साह थपिएको छ ।

‘नापीको काम सुरु भएको छ यसपटक समस्या समाधान हुने आशामा छौँ,’ भूमि अधिकारमञ्च कटारीका अध्यक्ष बालकृष्ण थापाले भने ।

कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले नगरभित्र जग्गा नापीको काम सुरु भएकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थितले लालपुर्जा पाउने गरी काम अघि बढेको बताए ।

उदयपुरमा कटारीबाहेक बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिकामा जग्गा नापजाँच भइरहेको आयोगको उदयपुर कार्यालयले जनाएको छ ।

रौतामाई गाउँपालिकामा पनि जग्गा नापी सुरु भएको आयोगका अध्यक्ष तामाङले बताए ।

जिल्लामा जग्गा नापीको कामलाई तीव्रता दिएको बताउँदै उनले सबै स्थानीय सरकारसँगको सहकार्यमा नापीको काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update