Public Pana
बरामद १४ किलो सुनको छानबिन गर्न समिति गठन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुनको छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।


विमानस्थलबाट बरामद भएको १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै आज शुक्रवार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।


पत्रकार सम्मेलनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेका बताउनुभयो ।


प्रमुख भन्सार प्रशासक पाण्डेले गए राति सुनसहित पक्राउ परेका गोरखाका चन्द्र घलेलाई प्रहरी थुनामा राखिएको बताउनुभयो ।

फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ बजेर ४० मिनेटमा काठमाण्डौ ओर्लिएका घलेलाई विमानस्थल भन्सारले ७ थान बिस्कुट आकारको सुनसहित पक्राउ गरेको थियो । यस प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update